मङ्गलबार, ११ असोज २०७९

‘बालेन क्रेज’ले दलहरुलाई सच्चिन दबाब

ईश्वरी बराल

२६ भाद्र २०७९, आईतवार ००:३१ मा प्रकाशित

काठमाडौँ– बालेन शाहको चर्चा र चासो त्यतिबेला सुरु भयो, जतिबेला उनी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने तयारी गर्दै थिए। गत वैशाख अन्त्यमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरको मेयरमा चुनिएदेखि आजसम्म बालेनको क्रेज बढ्दो क्रममा छ भन्दा पनि हुन्छ।

उपमेयरमा सुनिता डंगोल निर्वाचित भएसँगै महानगरको ठूलो जमातले युवा नेतृत्व पाएको खुसीयाली मनायो। गत जेठ १६ गते पदभार सम्हालेका मेयर, उपमेयरको कार्यकाल भदौ २२ गते सय दिन नाघेको छ।

शुक्रबार वसन्तपुरमा इन्द्रजात्रा कार्यक्रममा बालेन सहभागी हुँदा उनको यति धेरै हाइ–हाइ भयो कि,राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र जात्रामा सहभागी उच्च पदस्थ व्यक्ति उनको पक्षको जमात हेरेकोहेर्‍यै भए।

इन्द्रजात्राको माहोल बालेनमय बन्यो। बालेनको क्रेज अप्रत्यासित रुपमा बढ्दै गर्दा विषेशगरी उनका समर्थक युवा धेरै छन्। बालेनलाई कलाकारको पनि पूर्ण समर्थन छ। उनको क्रेजले स्वदेशी मात्रै नभइ विदेशीलाई समेत लोभ्याइदियो।

जात्रामा बालेनको समर्थनमा नारा लागेको थियो भने ठेलमठेलको भीडले उनका फ्यान बेहोससमेत भए। वर्षौदेखि एउटै राजनीतिक दल र सीमित व्यक्तिको मात्रै शासन भोगेर दिक्क भएका कारण नागरिकहरु नयाँ अनुहार र नेतृत्वप्रति आकर्षित हुनु स्वभाविक हो।

स्वतन्त्रको हैसियतमा जितेका बालेनले युवाहरुको भावनालाई समेट्न खोजेका छन्। अघिल्लो पुस्ताका नेता र नेतृत्वबाट युवा पुस्ता दिक्क भएका बेला केही आशा लिएर उदाएका बालेनलाई जनताको चाहनाअनुसार काम गर्छन् कि भन्ने आशले साथ मिलेको हो।

मेयर चुनिएको सय दिन मात्रै पूरा भएका कारण उनले निभाएको भूमिका, जिम्मेवारी र कामको निर्क्यौल गर्ने समय आइसकेको छैन। यद्यपि, पाँच बर्षे कार्यकालको सुरुवाति सय दिन तारिफ र आलोचनामा बिते।

महानगरको फोहोर व्यवस्थापन, अव्यवस्थित संरचना र पार्किङको समस्या समाधानमा हात हालेका उनलाई विभिन्न अप्ठाराहरु आएका छन्।

स्वतन्त्र भएका कारण बालेनलाई पार्टीप्रतिको जवाफदेहिताबाट मुक्त भएर महानगरवासीका समस्या सम्बोधन गर्न भने सहज देखिएको छ।
दलका नेताहरुले पनि आफू दल मातहत भएकाले चाहेअनुसार काम गर्न नसकेको र बालेनले स्वतन्त्र ढंगले महानगरवासीको भावना बुझेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

बहुदलीय संसदीय व्यवस्थामा संस्थागत जवाफदेहिता चाहिन्छ। तर, संस्थागत जवाफदेहिताले काम गर्न नदिएको वर्षौँदेखि तिनै दलको विधान स्वीकारेका नेताको गुनासो छ। दलहरुसँग असन्तुष्टि, गुनासो, विरोध, आक्रोश र गालीसँगै जनताले अपेक्षा पनि गरेका छन्।

‘बालेनहरु’को उदय भएसँगै अब भने दलहरु परिमार्जन हुँदै जानुपर्ने देखिन्छ। अहिले बालेनका प्रशंसकहरु थाकेका छैनन्र यति छिट्टै थाक्नेवाला पनि देखिँदैनन्। बालेनका नराम्रा काम पहिल्याउनतर्फ यति छिट्टै लाग्ने कुरा पनि भएन। बालेनले पनि पाँच बर्षे कार्यकाल सक्दासम्म कामका केही परिणाम दिन्छन् भन्ने आशमा जनता छन्।

शुक्रबार इन्द्रजात्रामा सहभागी हुँदा बालेनलाई देख्दा धेरैले राजा वीरेन्द्र शाहको झझल्को देखेको प्रतिक्रिया दिएका छन्। राजाको पनि दल थिएन। निर्दलीय धारणा बोक्नेहरुले, निर्दलीय धारणा लिएर जितेका जनप्रतिनिधिलाई, निर्दलीय धारणा बोकेका राजासँग तुलना गरेका हुन्।

हरेक ठाउँमा जस्तै राजनीतिमा पनि अपवाद हुन्छ। बहुदलीय व्यवस्थामा नेतृत्वले जनतालाई सन्तुष्ट बनाएर जानुपर्ने हुन्छ। बहुमत जनता असन्तुष्ट भए भने अर्को विकल्प खोज्नतर्फ लाग्छन्।

काठमाडौँमा बहुमत जनता दलसँग असन्तुष्ट देखिएर बालेनलाई समर्थन गरेका हुन्। कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र अन्य दलका असन्तुष्टहरु भेला हुँदा बालेनको समर्थन ह्वात्तै बढेको हो। दलको दरिलो विकल्प स्वतन्त्र हुन्छन् भन्ने सन्देश पनि हो।

नेपालीसँग जस्तोसुकै चुनौती पनि लिन, दिन सक्ने, समस्या बेर्होने र भोगेका समस्याहरु तुरुन्तै बिर्सने बानी छ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बालेनप्रति जनताको आकर्षण बढ्दै गर्दा ठूला र पुराना भनिएका दलहरुले जनताका मनोविज्ञान, भावना र दैनन्दिन आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिन्छन्।

उनी भन्छन्,‘एक जना व्यक्तिको जितसँग लामो इतिहास बोकेका राजनीतिक दलहरु तर्सिनुपर्छ भन्ने म मान्दिनँ तर जनताका आवश्यकतामा पहिलेभन्दा थप ध्यान दिनुपर्ने बेला आएको छ।’

लोकतान्त्रिक प्रणाली चलाउने राजनीतिक दलहरुले मात्रै हो भन्ने दलहरुको मान्यता छ भने आफूहरु लोकतन्त्रकै उपज भएको स्वतन्त्र जनप्रतिनिधिहरुको जवाफ छ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले पनि दलहरुले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले भने, ‘बालेनप्रति महानगरवासीको आकर्षणले हामीले आफैलाई परिमार्जन गरिएन भने जनताले विकल्प खोज्न सक्छन् भन्ने सन्देश प्राप्त भएको छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter