शनिबार, ०८ बैशाख २०८१

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ: चीन

२७ असार २०७९, सोमबार २१:१५ मा प्रकाशित

काठमाडौँ–  चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति रहेको स्पष्ट पारेका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार खुमलटारमा भेट गर्दै सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको विकास प्रक्रियामा सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

लिउ नेपालले विश्वका कुनै पनि देशसँग लिने सहयोगको सराहना गर्ने तर नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग नहोस् भन्ने चाहना रहेको स्पष्ट पारेका थिए। एसपिपीमा नेपालले राखेको अडानको पनि लिउले प्रशंसा गरेका थिए।

भेटबारे जानकारी दिँदै माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई नेताबीच सौहाद्रपूर्ण वार्ता भएको जानकारी दिए। ‘चीन र नेपालबीच राज्य-राज्य र जनता-जनता तथा दुई पार्टीबीच पनि राम्रो सम्बन्ध रहेको प्रचण्डले बताउनुभयो। ‘नेपालका सबै राजनीतिक दल र जनता एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालको विकास प्रक्रियामा चीनले गरेको सहयोगका लागि प्रचण्डले धन्यवाद पनि दिनुभयो,’ उनले भने।

भेटमा प्रचण्डले चीन र नेपालबीच व्यापार घाटा कम गर्ने विषयमा चीनको सहयोग अपेक्षा गरेका थिए। त्यस्तै, उनले अरनिको राजमार्ग र केरुङको सहजीकरणका लागि अनुरोध पनि गरे।

‘नेपालले जहिल्यै पनि चीनलाई असल मित्रका रुपमा स्वीकार गर्दै राम्रो सम्बन्ध स्थापित गर्न चाहन्छ,’ उनले भने।

नेपालको भूमि भएर चीनबिरोधी कुनै गतिविधि नगर्ने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गरेका छन्।

लिउलाई नेता श्रेष्ठले स्वागत गरेका थिए।

चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र पराराष्ट्रमन्त्री नारायण खड्कासँग यसअघि नै भेट गरिसकेका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter