शनिबार, १५ बैशाख २०८१

मुस्ताङकाे थासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियाे तारा एयरकाे विमान. हालसम्म १४ जनाको शव फेला

१६ जेष्ठ २०७९, सोमबार १२:२८ मा प्रकाशित

काठमाडौँ- तारा एयरकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ।

आइतबार बिहानदेखि बेपत्ता भएकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिका-२ काे शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ।

आज बिहानैदेखि खाेजीकार्यमा हिँडेकाे नेपाली सेनाकाे टाेलीले जहाज भेटा‍एकाे हाे।

अहिले माैसम खुलेकाे हुनाले हेलिकप्टर त्यहाँ जाँदै छ।

आइतबार पोखराबाट जोमसोम जाने क्रममा मुस्ताङको थासाङ गाउँपालिका-२ को सानसुरेमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा ३ परिवारका सबैजसो सदस्य परेका छन्।

चालक दलका सदस्यसहित २२ जना सवार रहेको यो विमानमा १९ यात्रु रहेका थिए। नेपालको एक श्रेष्ठ परिवार पनि यो दुर्घटनामा परेको छ।

गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ रहेकाको सपरिवार मुस्ताङ यात्राको लागि गएका थिए। रोजिना बुढानीलकण्ठ विद्यालयमा अध्ययन गरी अमेरिकामा पिएचडी अध्ययनको लागि गएकी थिइन्।

उनी हाल कोलोराडो स्टेट युनिभर्सिटीमा अध्ययनरत थिइन्। उनी छुट्टी मनाउन नेपाल आएकी हुन्। उनकी बहिनी रवीना श्रेष्ठ पनि बुढानीलकण्ठ स्कुलकै विद्यार्थी हुन्। उनी रामापो कलेज अफ न्यू जर्सीमा अध्ययनरत थिइन्।

रोजिना र रवीनाका परिवारका ४ सदस्य विमानमा सवार थिए। रोजिना र रवीनाका दाइ रोशन श्रेष्ठ भने विमान दुर्घटनाको खबर पाएलगत्तै अमेरिकाबाट नेपाल फर्किएका छन्।

क्रमशः रोजिता, रवीना र दाइ रोशन

रोशन पनि बुढानीलकण्ठ स्कुलकै विद्यार्थी हुन्। उनी सफ्टवेयर इन्जिनियर हुन्। श्रेष्ठ परिवारको स्थायी बसोबार गोरखा हो।

यस्तै, धुनषाकाे एक परिवार पनि  यो दुर्घटनामा परेका छन्। धनुषाका नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य राजनकुमार गोलेले बाबा, काका, मामासहितलाई तीर्थ यात्राको लागि लगेका थिए।

विमानमा गोलेसहित उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए।

तामाङ परिवार

विमानमा सवार ४ जना भारतीय नागरिक एकै परिवारका रहेका छन्। भारतीय सञ्चारमाध्यम ‘इन्डिएन एक्सप्रेस’का अनुसार विमानमा वैभवी बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी रहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार वैभवी र अशोककुमार त्रिपाठी सम्बन्ध बिच्छेदपछि अलग बस्ने गरेका थिए। वैवाहिक सम्बन्धबाट अलग रहेर पनि उनीहरू सन्तानलाई लिएर घुम्नको लागि नेपाल आएका थिए।

आइतबार बिहान ९ बजेर ५० मिनेट जाँदा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मस्ताङमा दुर्घटनामा परेको हो।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेस किस्मी थापा थिए।

चालक दलः क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा

यस्तै, विमानमा २ जर्मन नागरिकसहित क्याप्टेन वसन्त लामा पनि सवार थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ।

प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी नै छ। विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन।

नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्दार कार्यमा खटिएका छन् ।

प्राधिकरणले एयर डाइनेस्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्दार कार्य भइरहेको जानकारी पनि दिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter