शुक्रबार, १६ चैत २०८०

चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाए पोखरा विमानस्थलको चाबी

१२ चैत्र २०७८, शनिबार २१:११ मा प्रकाशित

काठमाडौँ– चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। विदेशमन्त्री यीले शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन्।

भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि उक्त विमानस्थल प्रधानमन्त्री देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो। चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो।

आज नै नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो। सिंहदरबारमा भएको बैठकपछि नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए।.

चिनियाँ विदशेमन्त्री वाङ्ले आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन्। उनी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter