सोमबार, १७ बैशाख २०८१

फेरि लकडाउन भए अर्थतन्त्रले थेग्न सक्दैन – अर्थमन्त्री शर्मा

२६ पुष २०७८, सोमबार १६:१३ मा प्रकाशित

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन भए मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताएका छन्। पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुनेमा उनले जोड दिए।

बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को सोमबार भएको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने स्पष्ट पारेका हुन्।

‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, उनले भने, ‘अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन। फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन।’

मन्त्री शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्नेसमेत औंल्याए। बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उनको भनाइ छ।

‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन?’, उनले भने, ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्‍यो। यो भावना देखिएको छैन। संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो।’

उनले मुलुकको गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गरे।

संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो। यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ।’

उनले दक्षिण कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएकाले ती मुलुकमा शाखा खोल्न आग्रह गरे। त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याए। बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको उनको भनाइ थियो। ‘आफूले आफैलाई ऋण दिने÷लिने देखिएको छ’, उनले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन्।’

मन्त्री शर्माले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने दावी गरे। पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने उनको भनाइ छ। ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजस्तो संकट आइसकेको छैन’, उनले भने, ‘सचेत हुने अवस्थामा चाहिँ छ। तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ।’

कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए। मन्त्री शर्माले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गरे।

ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको उनले जानकारी दिए। त्यसले गर्दा व्यवसाय असफल हुने उनको भनाइ छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter