आइतबार, ३१ असोज २०७८

काठमाडौंलाई सुनाउन न्यायका लागि कठोर पैदल यात्रा

दशरथ घिमिरे

५ आश्विन २०७८, मंगलवार ०९:१८ मा प्रकाशित

दाङ – खुट्टामा अनगिन्ती घाउ बनेका छन्। तर, पाइला रोकिएका भने छैनन्। नेपालगञ्जबाट सुरु भएको अधिकार प्राप्तिको संघर्ष बीचमा रोकिने छैन।

काठमाडौंलाई आफ्ना पीडा नसुनाउँदासम्म कठोर पैदल यात्रा टुंगिने छैन। असोज १ गते बाँके जिल्ला प्रशासन कार्यालयबाट महिला अधिकारकर्मी रुवि खानको अगुवाइमा पीडित पक्ष न्याय माग गर्दै संघर्षमा उत्रिएका हुनु।

१९ दिनसम्म कहिले जिल्ला प्रहरी कार्यालय, कहिले त बाँके जिल्ला प्रशासनमा धर्ना बसे। तर, उनीहरूको मागबारे प्रशासनले पटक्कै चासो दिएन। त्यसपछि सुरु भएको पैदल यात्रा चार दिनमा दाङ आइपुगेको हो।

 

घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोवीका हत्याका दोषी तथा विधवा महिला निर्मला कुर्मी हत्याका सबै दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही माग राखिएको छ।

यस्तै, बाँके जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारी तथा डीएसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाहीको माग राखिएको हो।

नन्कुन्नी धोवीको हत्या भएको घटनालाई प्रहरीले आत्महत्या बताएपछि माइती पक्ष र अधिकारकर्मीले संघर्ष छेडेका हुन्। जानकी गाउँपालिका–२ निवासी ३८ वर्षीया धोवीको साउन ५ गते राति मृत्यु भएको थियो।

घरको कोठामा झुन्डिएको अवस्थामा शव भेटिएको थियो। तर, धोवीले परिवारबाटै आफू असुरक्षित रहेको भन्दै प्रहरी कार्यालय र महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन्।

असार ७ गते उनले निवेदन दिएकी थिइन्। घरेलु हिंसाका कारण धोवीको हत्या भएको र यो घटनामा उनको श्रीमान् रामकुमार धोवी, जेठाजु इतवारी धोवी संलग्न भएको किटानी जाहेरी प्रहरीमा परेको छ।

 

सुरुको अवस्था किटानी जाहेरी दर्ता गर्न मानेको थिएन। दबाबपछि जाहेरी दर्ता भए पनि प्रहरीले यस घटनालाई वास्ता नगरेको पीडित पक्षको भनाइ छ।

प्रहरी हत्या होइन भन्छ। आत्महत्या भनेर मुद्दा सल्टाउन खोजिएको छ। रुवि खानले भनिन्। ‘सत्य–तथ्य जाँच हुनुपर्छ। दोषीलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ।’

निर्मला कुर्मीको घर नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरमा पर्छ। तर, कुर्मीको ८ वर्षअघि अपहरणपछि हत्या भएको आरोप छ। यो घटनामा राजनीति संरक्षण पाएका व्यक्ति संलग्न रहेकाले घटनाको राम्रोसँग अनुसन्धान नभएको, प्रहरी प्रशासनले बेवास्ता गरेको भनाइ अधिकारकर्मीको छ।

पटकपटक यस घटनाको आवाज उठे पनि दोषीमाथि कारबाही भएको छैन। यो पैदल यात्रामा नन्कुन्नि धोवी र निर्मला कुर्मीको न्यायका लागि आवाज बलियो गरी उठाइनेछ।

एउटा गाउँबाट थालिएको न्यायको संघर्षले काठमाडौंलाई झकझक्याउनेछ। काठमाडौं पुगेपछि प्रधानमन्त्री, गृहमन्त्रीदेखि माथिल्ला स्तरका नेतालाई ध्यानाकर्षण गराउने कार्यक्रम छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter