शनिबार, ०८ बैशाख २०८१

तेस्रो लहरको चेतावनी दिँदै प्रधानमन्त्री देउवाले भने- अत्यन्त आवश्यक नपरी घरबाहिर ननिस्कौँ

२३ श्रावण २०७८, शनिबार २२:१९ मा प्रकाशित
काठमाडौँ- नेपालमा चाँडै कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई सचेत रहन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले सरकारको एक्लो प्रयासले महामारीलाई हराउन नसकिने भन्दै सबै मिलेर महामारीलाई परास्त गर्न सकिने बताएका हुन्।
‘तपाई हामी सबै अहिले कोरोना भाइरस महामारीको सामना गरिरहेका छौँ। संक्रमणको तेस्रो लहर चाडै नेपालमा पनि सुरु हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्रै कोरोना भाइरसको महामारीसँग लड्न सम्भव छैन। हामी सबै मिलेर मात्रै महामारीलाई तह लगाउन सक्छौँ’, प्रधानमन्त्रीले सन्देशमूलक भिडियो मार्फत शनिबार भनेका छन्, ‘त्यसैले म तपाईहरुसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कौँ। बाहिर निस्कनुअगाडि नाक र मुख राम्रोसँग छोपिने गरी मास्कको प्रयोग गरोँ। भौतिक दूरी कायम गरौँ। र, बेला बेलामा साबुन पानीले हात धोऔँ। स्वास्थ्य सचेतना सम्बन्धी जनस्वास्थ्यका मापदण्डको पालना गरौँ।’
उनले महामारी नियन्त्रणको सबै भन्दा प्रभावकारी अस्त्र भनेको खोप भएको उल्लेख गर्दै अहिले विभिन्न समूहलाई खोप लगाउने कार्य जारी रहेको र खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न सबैलाई अनुरोध पनि गरेका छन्।
उनले विभिन्न राजनीतिक दलहरु, निजी तथा गैरसरकारी संघ–संस्थाहरुलाई भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पालना गर्दै आफ्नो पेशा तथा व्यवसाय सञ्चालन गर्न पनि अनुरोध गरेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter