मङ्गलबार, ०४ बैशाख २०८१

नेपाल खेमाको निष्कर्षः भारतसँगको साँठगाँठमा मन्त्रिपरिषद् पुनर्गठन, महतोको ‘विखण्डनकारी’ अभिव्यक्तिको जबाफ ओलीले दिनुपर्ने

दिपा दाहाल

२२ जेष्ठ २०७८, शनिबार २२:२२ मा प्रकाशित

काठमाडौँ- नेकपा एमाले बिद्रोही पक्षले कामचलाउ हैसियतका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँठगाँठ गरी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमासहित मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाउँदै जसपाबाट नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको ‘विखण्डनगरी’ अभिव्यक्तिको जबाफ ओलीले दिनुपर्ने निष्कर्ष निकालेको छ।

सत्ता जोगाउन ओलीले अवाञ्छित स्वदेशी मात्रै नभई विदेशी खासगरी भारतसँगको मिलोमतोमा जसपाको राजेन्द्र महतो पक्षलाई आफ्नो मन्त्रिपरिषद्मा सामेल गराएको र त्यो लगत्तै योजनावद्ध तरिकाले महतोको ‘अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भन्ने अभिव्यक्ति आएको भन्दै त्यसको जबाफ ओलीले दिनुपर्ने निष्कर्ष निकालेको हो।

शनिबार सम्पन्न यो पक्षको स्थायी कमिटी बैठकमा आफ्नो पार्टीसँगै ओलीद्धारा पुनगर्ठित मन्त्रिपरिषद्, महतोको विवादस्पाद अभिव्यक्ति, संसद विघटन, चुरेबाट गिट्टीढुंगा निकासको निर्णयलगायतमा केन्द्रीत भएर नेताहरुले छलफल गरेका थिए।

बैठकमा सोमल स्थायी कमिटी सदस्य बेदुराम भुसालले मुलुकको संविधानको धारा ३ विपरीत महोतोको देश टुक्राउने अभिव्यक्ति आएको र यसमा प्रधानमन्त्री ओलीले नै तत्काल जबाफ दिनुपर्ने निष्कर्ष निकालेको बताए।

यस्तै ओलीले असंवैधानिकरुपमा प्रतिनिधिसभाको विघटन गरेको र त्यसको पुर्नस्थापनाका लागि आन्दोलन जारी राख्ने निष्कर्ष पनि बैठकबाट निकालिएको छ।
बैठकमा चुरेबाट गिट्टी ढुंगा निकासी गर्ने सरकारको निर्णय राष्ट्रघाती भएको भन्दै त्यसको निरन्तर विरोध गर्ने निष्कर्ष पनि निकालिएको छ।

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभाकाकारी भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकाल्दै तुरुन्त कोरोनाविरुद्ध खोपको पहुँचमा सबै जनतालाई पुर्याउन सरकारसँग माग गर्ने निष्कर्ष पनि बैठकमा निकालिएको छ।

कोरोना महामारीका कारण स्वरोजगार,घरेलु, मझेउला उद्योगहरु बन्द भएका तर सरकारले त्यसमा कुनै संवोधन नगरेकाले त्यसमा राहत प्याकेज ल्याउन उसलाई आग्रह गर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।

‘कारवाही फिर्ता नभएसम्म ओलीसँग औपचारिक वार्ता नगर्ने’


बैठकले पार्टी एकताका लागि वार्ताको ढोका बन्द नगर्ने तर नेताहरुलाई पार्टीबाट निस्काशित गर्ने निर्णय फिर्ता नभएसम्म औपचारिक वार्ता नगर्ने निष्कर्ष निकालेको छ। तर त्यतिञ्जेल पार्टी पुनर्गठनका लागि संगठनात्मक अभियानलाई तीब्रता दिइरहने बैठकको निष्कर्ष छ।

यसअघि हिजो र अस्ती यो पक्षको केन्द्रीय कमिटीको भर्चुअल बैठक बसेको थियो। बैठकले निकालेका निष्कर्षलाई छुट्टै प्रेस विज्ञप्तिका रुपमा सार्वजनिक गर्ने तयारी यो पक्षले गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter