शुक्रबार, १६ चैत २०८०

ठाकुर पक्ष ओली सरकारमा सहभागी हुँदै, राजेन्द्र महतोको दाबी गृह मन्त्रालयमा

१० जेष्ठ २०७८, सोमबार १६:३९ मा प्रकाशित

काठमाडौँ – जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

आफूहरुले उठाएको सबै माग सम्बोधन भएको भन्दै ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो। प्रधानमन्त्री ओलीले राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट आठजनालाई मन्त्री बनाउन तयार भएका छन्।

ठाकुर निकट एक नेताका अनुसार ढिलोमा शुक्रबारसम्म शपथ ग्रहण भइसक्नेछ। ती नेताले देश सञ्चारसँग भने, ‘ओली जीले हामीले उठाएका माग सम्बोधन गर्नुभएको छ। अब सरकारमा सहभागी हुने निश्चित भयो। शुक्रबारसम्म शपथ हुने तयारी छ।’

जसपाले ओलीसमक्ष राखेका पाँचवटै माग सम्बोधन भएको जनाएको छ। संविधान संशोधनका लागि कार्यदल गठन, कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, आइतबार मात्रै अध्यादेशमार्फत नागरिकता ऐन संशोधन भएपछि ठाकुर पक्षीय नेताहरु उत्साहित भएका हुन्।

जसपाका अर्का एक नेताका अनुसार ठाकुर वरिष्ठ नेता महतोबीच सरकामा सहभागी हुने नेताहरुको नाम पनि निश्चित भइसकेको छ। जसमा महतोका साथै नेताहरु शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, एकवाल मियाँ, उमाशंकर अरगरिया र विमल श्रीवास्तव रहेका छन्।

जसपाले महतोलाई गृहमन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरेको छ। तर त्यसमा ओलीले सहमति नजनाएको नाम उल्लेख गर्न नचाहने एक संभावित मन्त्रीले देश सञ्चारसँग बताए।

उनले भने, ‘हामीले गृह नै पाउनुपर्छ भनेका छौँ। तर उहाँले मान्नुभएको छैन। छलफल हुँदैछ।’ माओवादीबाट एमाले छिरेका मन्त्रीलाई सर्वोच्चले पदमुक्त गरेपछि आठवटा मन्त्रालय खाली छ।

ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्चित भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने सरकारमा गए स्वत: पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ। आइतबार बसेको यादव पक्षको कार्यकारिणी परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter