शनिबार, ०८ बैशाख २०८१

प्रचण्डलाई पन्छाएर नेपालसँग मितेरी लाउने ओलीको दाउ

६ कार्तिक २०७७, बिहीबार १३:०१ मा प्रकाशित

काठमाडौँ-दिपा दाहाल- पार्टीमा जनाएका प्रतिवद्धता उल्लंघन, भ्रष्टाचार नियन्त्रणमा असफल र एकपछि अर्का अलोकप्रिय तथा जनविरोधी निर्णय गर्दा आफ्नो राजनीतिक अस्तित्व संकटमा पर्ने संकेत देखिएपछि नेकापका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समिकरण निर्माणको प्रयास अन्ततः उनीसँग रुष्ट वरिष्ठ नेता माधवकुमार नेपालसँगको संवादबाट थालनी गरेका छन्।

कर्णालीमा उत्पन्न नेकपा विवाद हलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति बन्न नसकेकै दिन हिजो मगंलबार ओलीले प्रचण्डलाई चेतावनी दिएको शैलीमा नेता नेपाललाई बालुवाटार बोलाएर उनलाई मनाउने कोशिस गरेका छन्।

ओली र नेपालबीच एक्लै भएको यो छलफल करिव तीन महिनापछिको पहिलो हो। पछिल्लो पटक साउन ९ गते ओली र नेपालबीच मध्यरातमा छलफल भएको थियो, जति बेला ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा परेका थिए।

पटकपटक आफूलाई धोका, बेवास्ता र अपमान गरेका ओलीबाट मगंलबार ‘अब मिलेर अघि बढौँ’भन्ने प्रस्ताव आउँदा नेता नेपाललाई कुनै नौलो नलागेको उनी पक्षधर नेताहरु बताउँछन्।

नेता नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन्,‘पार्टीमा एउटालाई पन्छाउने र अर्कोसँग मिल्ने कोशिस गर्नुको कुनै अर्थ छैन। समग्र पार्टीलाई एक बनाउनका लागि मिल्ने हो। जुन, निश्चित विधि, पद्दती, विधान र सिद्धानका अधारमा हुनुपर्छ। मिल्नका लागि सबैभन्दा पहिले कार्यशैलीमा परिवर्तन आउनुपर्छ।’

नेता नेपालले मगंलबार ओलीलाई भनेका पनि त्यस्तै थिए–पहिले कार्यशैली सुधार गर्नुहोस्, पार्टीमा गरिएका निर्णय कार्यान्वयन गर्नुहोस् त्यसपछि मिल्नका लागि कुनै समस्या छैन।

यद्धपि नेता नेपालका प्रेस संयोजक मोहन गौतमले लामो छलफल भएपनि नयाँ निष्कर्ष ननिस्किएकोे, पुरानै अडान यथावत रहेको बताएका छन्।

उनी भन्छन्,‘मिल्ने भन्ने प्रस्ताव नौलो होइन। छलफलमा ठोष कुरा केही आएको छैन।’ नेपालले ओलीसँग अन्याय नगर्न, जिम्मेवारी दिँदा विशेष ध्यान पुर्याउन,विधि र पद्धतिको ख्लाल गर्न भन्दै आफ्ना पुरानै मान्यता दोेहोर्याका थिए।

ओलीसँग भएका छलफलबारे जानकारी दिन भोलीपल्ट आज बुधबार नेपाल खुमलटार पनि पुगेका छन्। गौतमका अनुसार प्रचण्डसँग सामान्य छलफल गरेर नेपाल कोटेश्वर फर्किएका हुन्।

०००

पार्टी एकतापछि आफ्नो राजनीतिक अस्तित्व जोगाउन अधिकांश समय प्रचण्ड, वामदेव र झलनाथ खनाललाई आफूतिर तानेर आफूलाई एक्ल्याएको सायदै बिर्सेका छैन नेता नेपालले। त्यसैले उनलाई ओलीको ‘फेरि मिलेर जाउँ’ भन्ने प्रस्ताव नौलो नलाग्नु स्वाभाविक भएको नेता भुसाल बताउँछन्।

पार्टी विभाजनको डिलमै पुगेका बेला त्यसलाई बचाउने अस्त्र बनेको भदौ २६ गतेको स्थायी कमिटी बैठक र त्यसपछिका केन्द्रीय सचिवालय बैठकहरुका निर्णय उल्लंघन गर्दै ओलीले आफूखुसी संवैधानिक र राजदूत नियुक्त, मन्त्रिपरिषद्मा हेरफेर गरे।

यसमामिलालाई लिएर १३ पटक तीन तीन घण्टा छलफल गर्दा पनि प्रचण्डलाई सहमत बनाउन सकेनन् ओलीले।

त्यसपछि ओलीसँग असन्टुष्टी बढ्दै गएका बेला कर्णालीमा संवैधानिक अधिकारको प्रयोग भन्दै नेकपाकै सांसदहरुले संसदी दलमा प्रचण्ड निकट मुख्यमन्त्री महेन्द्रबादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। एकाएक धारापमा परेको शाहीको पद जोगाउन प्रचण्डले नेता नेपालको साथ लिए।

अविश्वासको प्रस्तावको नेतृत्वमा रहेका ओली निकट नेता यामलाल कँडेलले अविश्वासको प्रस्ताव दर्ता गर्नलाई प्रेरित गर्ने नेपाल निकट नेताहरुनै पद प्रलोभनमा परेर भागेको आरोप लगाउँदै आएका छन्।

यता प्रचण्डले नेता नेपालको साथ पाएर तत्काललाई शाहीको पद जोगाउन त सफल भए तर त्यसको दीगोपनका लागि प्रयास गर्दा ओलीसँग असमझदारी बढ्यो।

मगंलबार ओली र प्रचण्डको छलफल सकिएपछि प्रचण्डको सचिवालयले कर्णाली विवाद समाधानको जिम्मा प्रदेश कमिटी र संसदीय दललाई दिने दुई अध्यक्षबीच समझदारी बनेको सूचना बाहिर ल्याएका बेला त्यसलाई खण्डन गर्दै ओलीको सचिवालयले गुलावजंग शाहको प्रमुख सचेतक पद निलम्बन गर्ने मुख्यमन्त्री शाहीको निर्णय बदर गर्ने र अविश्वासको प्रस्ताव फिर्ता गर्ने लगायत चार बुँदे सहमति भएको स्पष्टीकरण दिएसँगै ओली र दाहालबीचको मतभिन्नता छताछुल्ल भएको थियो।

त्यसलगत्तै ओलीले नेता नेपाललाई बालुवाटार बोलाएका थिए। प्रभावकारी काम गर्न नसकेको आरोप लागेका प्रचण्ड निकट मुख्यमन्त्री शाहीलाई पदबाट हटाउने चाहना अझै पनि ओलीमा रहेको र त्यसका लागि उनले प्रचण्डलाई पन्छाएर नेपालसँग मितेरी लगाउन खोजेको नेपाल निकट एक नेता बताउँछन्।

प्रचण्ड निकट स्रोत भने बालुवाटारबाट ‘प्रोपागाण्डा बाहेक अरु केही नभएको र आफ्नो जित देखाउने होडबाजी चलेको बताउँछ।

मुख्यमन्त्री शाहीबिरुद्ध ओली पक्षका ८, नेपाल पक्षका सात र माओवादी केन्द्र पृष्ठभूमि भएपनि हाल प्रचण्डसँग रुष्ट तीन जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

अविश्वासको प्रस्ताव दर्ताका लागि गोप्यरुपमा अनुमति दिएका ओलीले शाहीलाई हटाएर मुख्यमन्त्रीको पद आफू निकट नेता यामलाल कँडेलको पोल्टामा पार्न चाहेको बुझिन्छ।

त्यसका लागि ओली नेपालसँग मिल्दा बढी लाभ हुने हिसावकिताब ओलीपक्षमा भइरहेको छ। कर्णालीमा नेकपाका ३३ जना सांसद भएकोमा एक जना सभामुख र संसदीय दलको प्रमुख सचेतकले भोट दिन नपाउने व्यवस्था छ।

‘पहिले नेपाललाई कमजोर बनाउन ओलीले प्रचण्डलाई आफूतिर तान्नुभयो। अहिले प्रचण्डलाई कमजोर बनाउन नेपाललाई तान्ने प्रयासको थालनी गर्नु भएकोछ,’ नेपाल निकट ती नेताले भने।

‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ नारा कार्यान्वयन नभएको, अध्यादेश प्रकरणले सरकारमाथि अविश्वास बढेको, वामदेव गौतमलाई प्रतिनिधिसभा वा राष्ट्रियसभा लैजाने की नलैजाने भन्ने विषयमा मत बाझिएको पृष्ठभूमिमा असार १० गतेको स्थायी कमिटी बैठकपछि ओलीले दुबै पदबाट राजनामा दिनुपर्ने अडानमा प्रचण्ड–नेपाललगायत संलग्न भैँसेपार्टी मोर्चा बनेको थियो।

तर मोर्चा भत्काउन साउन ३ गते प्रचण्डलाई अध्यक्ष दिने लोभ देखाएर उनीसँग मंसिरको पहिलो वा दोस्रो साता पार्टीको महाधिवेशन गर्न ओली सहमत भएका थिए।
तर नेपालले प्रचण्डलाई खुट्टा नडगमगाउन चेतावनी दिएपछि उनी फरि नेपालतर्फ मोडिन बाध्य भएका थिए।

आफू सत्ताबाट बाहिरिने निश्चित जस्तै भएका बेला ओलीले साउन ९ गते मध्यरातमा बालुवाटार बोलाएर नेपाललाई महाधिवेशनपछि नेतृत्व सुम्पिने र आफू पूर्वसहमतिका आधारमा अघि बढ्ने आश्वासन दिएर फकाउने कोशिस नगरेका होइनन्।

तर नेपालले त्यो बेला पनि धैर्य गरेर ओलीसँग कुनै सहमति नगरेको उनी निकट अर्का एक स्थायी कमिटी सदस्य बताउँछन्।

साउन ३० मा ओली र प्रचण्ड एक्लैले पार्टी कमिटीलाई ‘बाइपास’ गरेर विवाद समाधान कार्यदल बनाएको भन्दै असन्तुष्ट बनेपनि नेपाल आफ्ना असहमतिलाई थाँती राखेर पार्टी फुट्न नदिनु उपयुक्त हुने निष्कर्षमा पुगेका थिए।

त्यसयता मन्त्रिपरिषद् हेरफेरलगायत विषयमा दाहाल र ओलीबीच निरन्तरजसो छलफल चले तर ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला पनि नेपालको सुझाव लिन चाहेका थिएनन्।

नेता नेपाल प्रचण्डसँग एकपटक खुमलटार बसे, कर्णालीका मुख्यमन्त्रीसहित आफ्ना समूहका नेताहरुसँग।

यसो त ओलीले नेपाललाई सरकार या पार्टीका महत्वपूर्ण विषयको छलफलबाट अलग्याउने कोसिश गरेको पार्टी एकातादेखिनै हो। तर पूर्वएमालेको नवौँ महाधिवेशनपछि चिसिएको नेपाल र ओलीबीचको सम्बन्धलाई पार्टी एकताले पनि खासै विश्वासिलो बनाउन सकेन।

एक वर्ष अघि २०७६ भदौ ५ गते उपचारका लागि सिंगापुर जाने दिन भएको केन्द्रीय सचिावलय बैठकमा ओलीले ‘आफूलाई मरेमरोस् भन्नेको स्वास्थ्य लाभको शुभकामना चाहिँदैन’ भन्दै नेपाललाई आरोप लगाउँदा नेपाल निकै निराश बनेका थिए।

त्यसको एक वर्ष अघि २०७५ फागुन २२ गते नेपालले संसदमा ‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ भन्ने गीत गाउँदै देशमा बिग्रदै गएको स्थितिबारे प्रस्ट्याउँदा ओलीलाई अपाच्य भएको थियो।

ओलीबाट पटकपटक अपमानित हुनुपरेपछि नेपालले पनि बेला बेला प्रचण्डलाई साथ दिएका छन् । तर प्रचण्ड र नेपालबीचको विश्वास पनि डग्माउँदै आएको छ।

यही मौकामा ओली पनि कहिले नेपाल त कहिले प्रचण्डलाई आफ्नो बनाएर सत्तामा टिक्न सफल भएको ओली पक्षकै एक केन्द्रीय सदस्य विश्लेषण गर्छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter