बिहिबार, १५ चैत २०८०

राजधानी सार्ने सरकारकै प्रस्तावबारे सत्तारुढ दलभित्रै विवाद, १४ सांसदले लेखे नोट अफ डिसेन्ट

१८ आश्विन २०७७, आईतवार ०९:०७ मा प्रकाशित
बुटवल- प्रदेश ५ सरकारले संसदमा दर्ता गराएको राजधानी सार्ने प्रस्तावमा सत्तारुढ दल नेकपाभित्रै विवाद देखिएको छ।
नेकपाका सांसदहरुले छलफलबिना एक्कासी सदनमा प्रस्ताव ल्याएको भन्दै साबिक लुम्बिनी अञ्चलका सांसदहरुले असन्तुष्टि जनाएका छन्।
त्यसबाहेकका क्षेत्रका सांसदले भने सरकारको निर्णयको स्वागत गरेका छन्। साबिक लुम्बिनी अञ्चलका १४ जना सांसदले मुख्यमन्त्रीलाई फरक मत (नोट अफ डिसेन्ट) लेखेर दिएका छन्।
शनिबार करीब ५ घण्टासम्म मुख्यमन्त्री निवास बुटवलमा कडा सुरक्षासाथ बसेको बैठकमा साबिक लुम्बिनी अञ्चलका सांसदहरुले सरकारले छलफल बिना ल्याएको प्रस्तावमा फरक मत राखेका हुन्।
उनीहरुले लिखित रुपमै फरक मत राखेका थिए। उनीहरुले बुटवल ऐतिहासिक, धार्मिक, सांस्कृतिक, शैक्षिक सबै हिसावले अब्बल भएको भन्दै नदी किनारमा स्थायी राजधानीको प्रस्ताव अस्वीकार्य हुने बताएका थिए।
उनीहरुले विकासले समेत गति लिन नसकिरहेको अवस्थामा भएका संरचनासमेत छाडेर अर्बौको संरचना तयार गर्नुपर्ने भएकाले देउखुरीमा स्थायी राजधानी स्थापना गर्न आवश्यक नरहेको बताएका थिए।
उनीहरुले प्रक्रिया मिचेर प्रस्ताव ल्याइएको बताएका थिए। स्थायी राजधानी र नामाकरण सिफारिस समितिले प्रदेश सभामा पेस गरेको प्रतिवेदनमाथि छलफल नै नगरी अलोकतान्त्रिक शैलीबाट नयाँ ठाउँको प्रस्ताव आएको भन्दै उनीहरुले प्रस्तावको विपक्षमा उभिने बताएका छन्।
संसदीय दलको बैठकमा रुपन्देही, पाल्पा, गुल्मी र कपिलवस्तुका केही सांसदले प्रस्तावको विपक्षीमा रहेको भन्दै फरक मत राखेका हुन्।
फरक मत राख्ने सांसदहरु १. भोज प्रसाद श्रेष्ठ २. कृष्ण प्रसाद न्यौपाने ३. दधिराम न्यौपाने ४. सुनिता ठठेर ५. विमला पन्थी ६. थान कुमारी थापा ७. तुल्सी प्रसाद चौधरी ८. युवराज खनाल ९. नारायण प्रसाद आचार्य १०. रमा घर्ती मगर ११. डा. पूरन आचार्य १२. धर्म बहादुर लाल श्रीवास्तव १३. विष्णु प्रसाद पन्थी १४. फौजिया मियाँ खातुन

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter