शनिबार, ०८ बैशाख २०८१

लद्दाखमा चीन-भारतबीच फेरि तनाव, एक-अर्काका सैनिकले गोली चलाएको आरोप

२४ भाद्र २०७७, बुधबार ११:०४ मा प्रकाशित

आणविक शक्ति राष्ट्रहरू चीन र भारतबीच लद्दाखको प्यान्गोंग त्सो ताल क्षेत्रमा फेरि तनाव चुलिएको छ।

सोमबार राति त्यहाँ गोली चलेको दुबै देशका अधिकारीहरूले बताएका छन् तर गोली कसले हानेको हो भन्नेमा चाहिँ नयाँदिल्ली र बेइजिङबीच आरोप-प्रत्यारोप छ।

भारत र चीनबीच झन्डै चार हजार किलोमिटर हिमाली क्षेत्रमा सीमा टुंग्याउन बाँकी छ। जमिनका लागि सन् १९६२ युद्ध लडेका चीन र भारतले त्यसपछि पनि विवाद टुंग्याउन सकेका छैनन् बरू मोटामोटी एकअर्काको सीमा बनाएका छन्। जसलाई लाइन अफ एक्चुअल कन्ट्रोल भनिन्छ।

विवादले जतिसुकै बेला उग्र र हिंसात्मक रूप लिन सक्ने ठानेर सीमामा प्याट्रोलिङ गर्दा दुबै देशका सैनिकले हतियार प्रयोग गर्दैनन्। आमनेसामने भइहाले पनि धकेलाधकेल र मुक्का हानाहान हुने गर्छ। पछिल्लो समय गत जुनमा लद्दाख क्षेत्रमै भएको झडपका क्रममा २० भारतीय सैनिक मारिएका थिए। उक्त घटनामा पनि गोली चलेको थिएन।

सोमबार भने प्यान्गोंग त्सो ताल क्षेत्रमा गोली चलेको दुबै देशका सैनिकहरूले जनाएका छन्। तर गोली भने आफूले नभई अर्को पक्षले हानेको उनीहरूको भनाइ छ।

भारतीय सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै सोमबार राति चिनियाँ जनमुक्ति सेनाका सैनिकहरूले अहिलेको एक्चुअल लाइन अफ कन्ट्रोल पार गरेको जनाएको छ।

‘हाम्रा सैनिकहरूले उनीहरूलाई निरूत्साहित गरेपछि पिएलएका सैनिकहरूले हामीलाई तर्साउन केही राउन्ड हवाइ फायर गरेका थिए,’ भारतीय सैनिकको विज्ञप्तिमा भनिएको छ,’हामीले एकदमै संयमताका साथ काम गर्‍यौं। कुनै पनि बेला हामीले एलएसी पार गरेका छैनौं र फायरिङजस्तो उत्तेजित पार्ने कुनै माध्यम पनि प्रयोग गरेका छैनौं।’

उता चीनले भने भारतीय सैनिकहरूले यसअघि तोकिएको सीमा रेखा पार गरेर बताएको छ।

‘भारतीय सैनिकले नेगोसियसन गर्न अघि बढेका चाइनिज बोर्डर गार्डलाई डराउन जथाभावी फायरिङ गरे। त्यसपछि परिस्थितिलाई नियन्त्रणमा लिन उनीहरूले पनि जवाफी कारबाही गर्नुपर्‍यो,’ चिनियाँ जनमुक्ति सेनाका वेस्टर्न थिएटर कमाण्डका प्रतिनिधि झाङ सुइलीले भनेका छन्।

उनले त्यस्तो भड्काउपूर्ण कार्य रोक्न र त्यसमा संलग्न सैनिकलाई कारबाही गर्न पनि भारतसँग माग गरेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter