मङ्गलबार, ०४ बैशाख २०८१

राष्ट्रिय झण्डा जलाइएको भिडियो पछाडि ‘राजनीतिक स्वार्थ’ भएको प्रहरीको निष्कर्ष

४ भाद्र २०७७, बिहीबार २२:१८ मा प्रकाशित

काठमाडौं- राष्ट्रिय झण्डा जलाइएको भिडियो भएको गीत बनाइनुको पछाडि राजनीतिक स्वार्थ भएको प्रहरीले निष्कर्ष निकालेको छ।

घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार गितमा संलग्न गायक गायिका, मोडललगायतका कलाकार मंगोल नेसनल अर्गनाइजेसनमा आबद्ध छन्। जातीय राजनीतिक गरिरहेको यो अर्गनाइजेसनका अध्यक्ष डां गोपाल गुरुङ हुन्।

यस गित गाउने गायकगायिका, मोडल, रेकर्डिस्ट, भिडियो एडिटरलगायत १० जनालाई परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो- सीआईबीले पक्राउ गरेका हुन्। गितको सुटिङ गत चैतमा भएपनि भिडियो भर्खरै मात्र रिलिज भएको हो।

त चैत ८ गते मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) ३ नम्बर प्रदेश इञ्चार्ज डेबिट तामाङका नाममा एउटा पर्चा सामाजिक सञ्जालमा आएको थियो जसमा सन् २०२५ सम्म नेपाललाई इसाई राज्य बनाउने भन्दै हिन्दुवादी संघसंस्थालाई धम्क्याइएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले भिडियोको पछाडि कुनै समूहको स्वार्थ हुन सक्ने तरिकाले अनुसन्धान भइरहेको बताए। उनले पक्राउ परेकाहरु मंगोल नेसनल अर्गनाइजेसनमा आबद्ध भएको देखिएको उनको भनाइ छ। मंगोल नेसनल अर्गनाइजेसनले २०७० को संविधान सभा निर्वाचनमा भाग पनि लिएको थियो।

पछिल्लोपटक विवादमा आएको म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो। उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।

म्युजिक भिडियोमा साम्प्रदायिक  सद्‌भावमाथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्। बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीतको नाम ‘देशद्रोही’ रहेको छ। ‘मंगोल होप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा बाहुन–क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै देशै छाडेर जान धम्की दिइएको छ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्बिर पनि जलाइएको छ।

उक्त कार्य मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) विरुद्धको कसुर देखिएको छ। त्यसमा लेखिएको छ, ‘…जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायीक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन।’

यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

त्यस्तै दोस्रो, भिडियोमा नेपालको झण्डा अर्को अपराध गरेको देखिन्छ। राष्ट्रिय झण्डा जलाउने कार्य ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसूर’ अन्तरगत राखेर मुलुकी अपराध संहिताले जेलसम्मको सजाय हुने व्यवस्था गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter