शनिबार, १५ बैशाख २०८१

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध जनकपुरधाममा प्रदर्शन

३१ असार २०७७, बुधबार २०:५१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अयोध्या नेपालमै रहेको’ भन्ने दिएको विवादास्पद अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने विश्व हिन्दु परिषद् नेपालले चेतावनी दिएको छ।

भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सीताको विवाह भारतमा होइन नेपालकै पर्सा जिल्लामा रहेको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको भन्ने अभिव्यक्ति फिर्ता नलिए आफूहरू आन्दोलन गर्न बाध्य हुने परिषद्ले चेतावनी दिएको हो।

प्रधानमन्त्री ओलीले वैदिक र साँस्कृतिक रूपमा विश्वका करोडौं हिन्दुहरूको आस्थासँग खेलवाड गरेको परिषद्का जनकपुरधाम नगर कमिटी अध्यक्ष मिथिलेश झाले आरोप लगाए।

‘धार्मिक विषयमा राजनीति नै गरिनुहुन्न, तर प्रधानमन्त्री ओलीले यी कुराको वास्ता नगरी धार्मिक संकट निम्त्याउने अभिव्यक्ति दिनुभयो, उहाँले यो अभिव्यक्ति फिर्ता लिनैपर्छ,’ अध्यक्ष झाले भने,‘ वैदिक र साँस्कृतिकमाथि प्रहार कदापी मान्य हुन्न।’

परिषदले नेपालको राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गरेको हो।

यसैबीच जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरूद्ध कसरी अगाडि बढ्ने विषयमा छलफल गर्ने भएको छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनकपुरधामको नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लब, पत्रकार लगायतसँग विमर्श गर्न बैठक बोलाएको जानकारी दिए।

बैठकबाट प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरूद्ध आन्दोलन सम्मको कार्यक्रम ल्याउने तयारीमा जुटेको जानकी मन्दिर स्रोतले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter