शुक्रबार, १६ चैत २०८०

सफल भएन स्वास्थ्य मन्त्री ढकालको दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने योजना

१५ असार २०७७, सोमबार १९:३५ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने प्रतिवद्दता जनाएपनि त्यो पूरा नहुने भएको छ।

संक्रमित संख्या बढ्दै गएको भन्दै मन्त्री ढकालले असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्दता जाहेर गरेका थिए।

गत दुई दिनको परीक्षण संख्या हेर्ने हो भने दैनिक ४ हजार जनाको परीक्षण हुँदै आएको छ। मन्त्रालयको तथ्यांक अनुसार आइतबार ४ हजार ६ सय ६ जनको परीक्षण भएको छ।

मन्त्रालयले भएका प्रयोगशालाहरूको क्षमता वृद्धि गर्ने, थप पिसिआर मेसिनहरू थप्ने र निजी प्रयोगशालाहरूलाई पनि प्रयोग गरेर दैनिक १० हजार जनाको परीक्षण गर्ने तयारी गरेको थियो।

सरकारले थप १० वटा अस्पतालहरूमा पिसिआर मेसिन जडान गर्ने जनाएपनि निजी प्रयोगशालाहरूलाई अहिलेसम्म परीचालन गर्न सकेको छैन।

एक निजी प्रयोगशालाका सञ्चालक तथा जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षित भने, ‘अहिलेसम्म अनुगमन हुन सकेको छैन। हामी त परीक्षण गर्नलाई तयारी अवस्थामै छौं।’

मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षण गर्ने दिने कुरामा मापदण्ड जारी गर्न नै ढिला गर्यो। मापदण्ड जारी गरेपनि मूल्यको विषयलाई लिएर निजी प्रयोगशालाहरूले आनाकानी गरिरहेका छन्।

सरकारले निजी प्रयोगशालाहरूलाई एउटा नमूनाको परीक्षण गरेबापत ५ हजार ५ सय रुपैयाँ दिने भनेको छ।

‘सरकारले किन यति थोरै मूल्य तोकेको हो सोध्न मन छ। कि सस्तो र कमसल खालको कीट लिएर परीक्षण गर्ने भनेको हो कि। त्यस्तो हो भने परीक्षणको नतिजाको विश्वसनीता घट्छ,’ दीक्षितले भने।

सुरूमा मापदण्ड जारी गर्दा पनि मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षणको अनुमति पाउन कम्तीमा तीन वटा पिसिआर मेसिन हुनुपर्ने भनेको थियो जबकी सरकारकै मातहतमा रहेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक कुनै पनि प्रयोगशालामा दुईटा पिसिआर मेसिन छैन।

पछि विवादित भएपछि मन्त्रालयले एउटा पिसिआर मेसिन भएपनि परीक्षण गर्न पाउने भनेको छ।

अहिले देशभर रहेका २३ वटा प्रयोगशालाहरूबाट दैनिक ४ हजार जनाको परीक्षण हुँदै आएको छ। अहिलेसम्म एकैदिन सर्वाधिक ७ हजार जनाको परीक्षण भएको छ।

मन्त्रालयले यहीँ संख्यालाई बढाएर दैनिक १० हजार पुर्याउने भनेको थियो। अहिले भने मन्त्रालयले दैनिक १० हजार जनाको परीक्षण गर्न आवश्यक नरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सेतोपाटीसँग भने, ‘दैनिक १० हजार जानको परीक्षण गर्नुपर्ने देखिएन। अहिले जम्मा ६० हजार मानिस क्वारेन्टिनमा छन्। त्यसैले दैनिक ७ हजार जनाको परीक्षण गरे पुग्छ।’

मन्त्रालयको आइतबारसम्मको तथ्यांक हेर्दा ६५ हजार व्यक्ति क्वारेन्टिनमा छन्। उनीहरू अधिकांश भारतबाट आएका छन्। प्रवक्ता गौतमले दैनिक १० हजारको परीक्षण गर्न परेपनि त्यो धेरैमा १० दिनलाई गरे पुग्ने जिकिर गरे।

‘अहिले परीक्षण बढाउन जरुरी देखिएको छैन। दैनिक १० हजारको परीक्षण गर्नु परेपनि दश दिन जति गरे पुग्ने देखिएको छ,’ डा. गौतमले भने।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter