शनिबार, ०८ बैशाख २०८१

नेकपा बैठक तेस्रो दिन: सीमा विवाद अन्तर्राष्ट्रियकरण नगर्न सुझाव, कारबाहीप्रति क्षमा माग्न वामदेवको माग

१४ असार २०७७, आईतवार ००:५६ मा प्रकाशित

काठमाडौँ – नेकपाका उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने माग गरेका छन्। स्थायी समिति बैठकमा नेता गौमलले तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाए पनि आफूमाथि अन्याय गरिएको भन्दै नेतृत्वले क्षमा माग्नुपर्ने बताएका हुन्।

नेकपाका जारी स्थायी समिति बैठकमा सीमा विवादबारे बिहीबार र शुक्रबार छलफल भएको थियो। सीमा विवादबारे गौतमले राखेको धारणा उद्धृत गर्दै स्रोतले भने, ‘मैंले महाकाली सन्धि राष्ट्रहित विपरीत भन्दा कारबाही गरियो। अहिले त्यो पुष्टि भएको छ। त्यसबेला कारबाही गर्ने कमरेडहरुले क्षमा माग्नुपर्छ।’

कारबाहीपछि आफूमाथि हुँदै आएकाले न्याय पाउनुपर्ने माग गौतमले गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए। तत्कालीन एमालेभित्र महाकाली सन्धि देशको हित विपरीत रहेको भन्दै गौतम नेतृत्वको समूहले विरोध जनाएको थियो।

उक्त विवाद चर्किदै जाँदा तत्काली महासचिव माधवकुमार नेपालले गौतमलाई कारबाही गरेका थिए। कारबाहीपछि गौतमले एमाले फुटाएर माले पार्टी बनाएका थिए।

नेकपा बैठकमा शुक्रबार २१ जना सदस्यहरुले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा बोल्ने अधिकांश सदस्यरुल भारतसँगको सीमा विवाद सुल्झाउन वार्ता नै एक मात्र विकल्प भएको र निरन्तर कोसिस जारी राख्नुपर्ने सुझाव दिएका छन्।

बैठकमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङले धेरै अप्ठेरोको बीचमा लिम्पियाधुरासहितको नक्सा जारी भएको र त्यसलाई संविधान संशोधन गर्न सकिएको बताएका छन्। उनले संशोधन संविधान जारी हुँदा भन्दा पनि एक कदम अघि बढेको धारणा राखेका थिए। उनले भने, ‘हामीले धेरै अप्ठेरोको बीचमा नक्सा जारी गर्ने र संविधान संशोधन गर्ने काम गरका छौं। एक हिसाबले भन्दा यो संविधान जारी हुँदाभन्दा पनि अगाडि छ। जारी हुँदा संविधानको विपक्षमा मत परेको थियो। तर अहिले एक मत पनि परेन।’

उनले संशोधनलाई नै आधार बनाएर अब भारतसँग वार्ताका लागि निरन्तर प्रयास जारी राख्न पार्टीलाई सुझाव दिए। भारतसँगको विवाद अन्य माध्यमबाट समाधान हुन नसक्नेतर्फ विचार गर्न नेम्वाङले सुझाएको स्रोतले भन्यो। ‘वार्ता नै समस्या समाधानको विकल्प हो। अन्तराष्ट्रियकरण गर्न प्राविधिक कारणले सकिँदैन। अन्तराष्ट्रिय अदालतमा जाने कुरा पनि सजिलो छैन। नेपाल र भारत दुवै देशले अन्तराष्ट्रिय अदालतलाई पूर्व रुपमा स्वीकार गरिएका छैनन्,’ नेम्वाङले भने।

अर्का स्थायी समिति सदस्य रघुजी पन्तले नेपालमा भारत विरोधी भावना बढ्नुमा भारत नै जिम्मेवार रहेको उल्लेख गरे। उसको हेपाह प्रवृत्तिका कारण दुई देशको सम्बन्ध मात्र होइन, भारत विरोधी भावनासमेत नेपालमा बढेको बताए। उनले बैठकम भने, ‘भारतले नेपालप्रति आफ्नो व्यवाहार परिवर्तन ल्याएर हाम्रा गुनासाहरु सुनेर तीनको समाधान गर्यो भने नेपाली जनता रहेको भारत विरोधी भावना स्वत सेलाएर जान्छ। नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साधान खोज्ने र प्रभावमा राख्ने व्यवाहार स्वयम् भारतकै हित विरुद्ध छ।’

पन्तले पनि सीमा विवाद समाधानको उपाय भारतसँग वार्ता नै भएको धारणा राखेका थिए।

बैठकमा नेताहरु मणि थापा र टोपबहादुर रायमाझीले भारतसँग अड्नुपर्ने अवस्था पनि पछि हट्न नहुने बताएका थिए।

बैठकमा स्थायी समिति सदस्यहरु ईश्वर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, पृथ्वीसुब्बा गुरुङ, विष्णुपुकार श्रेष्ठ, घनश्याम भुसाल, डा. पुष्पकँडेलले धारणा राखेका थिए।

सीमा विवादबारे बिहीबार १८ जना नेताहरु बोलेका थिए। बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। शनिबार मदन भण्डारीको जन्मजयन्ती र आइतबार असार १५ भएकाले १६ गते सोमबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। सोमबार कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका काम कारबाहीको बारेमा छलफल हुनेछ।

असार १३, २०७७ मा प्रकाशित

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter