शुक्रबार, १६ चैत २०८०

भारतबाहेक अन्य मुलुकबाट फर्कनेले हवाई भाडा र क्वारेन्टिन खर्च आफै तिर्नुपर्ने व्यवस्था

नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश स्वीकृत

१५ जेष्ठ २०७७, बिहीबार २३:०३ मा प्रकाशित

काठमाडौँ- सरकारले कोरोना भाइरस संक्रमणको महामारीका कारण भारतबाहेक अन्य मुलुकबाट आउने नेपाली नागरिकले हवाई उडान र होटेल क्वारेन्टिनलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने निर्णय गरेको छ।

पहिलो चरणमा करिव २५ हजार नेपालीलाई स्वदेश ल्याउने बताउँदै आएको सरकारले उनीहरुलाई कहिलेसम्म फर्काउने भन्नेबारे मिति निर्धारण गर्न नसकिरहेका बेला विदेशबाट आउनेहरुले व्यहोर्नुपर्ने खर्चबारे निर्णय गरेको हो।

सोमबारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ मा त्यस्तो व्यवस्था गरिएको हो।

सरकारी उच्चस्रोतबाट प्राप्त उक्त आदेश अनुसार सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाई उडान, यातायात, होटल क्वारेन्टिनलगायतका खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने उल्लेख छ।

स्रोतका अनुसार सरकारले उक्त आदेश कार्यान्वयनका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लगायत अन्य सरोकारवाला निकायमा पठाइसकेको छ।

आदेशमा भारतबाट आउने नागरिकले प्रवेश विन्दुदेखि होल्डिङ सेन्टर हुँदै स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिन सम्म र अन्य मुलुकबाट आउनेले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै क्वारेन्टिन होटल या स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च स्वं व्यक्तिले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।

यता विदेशबाट मृतकको शव ल्याउने खर्च सम्बन्धित रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने व्यवस्था आदेशमा उल्लेघ गरिएको छ।  तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार प्रवद्र्धन कोषबाट व्यहोर्न सकिने भन्दै सरकारले अन्यौल समेत सिर्जना गरिदिएको छ।

तर भारतबाट आउने नेपालीको लजिस्टिक, खानपिनलगायत क्वारेन्टिनमा खर्च गरेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, केन्द्रीय तथा जिल्ला विपद व्यवस्थापन कोष र वैदेशिक रोजगार प्रवद्र्धन कोषबाट व्यहोरिने आदेशमा उल्लेख छ।

फर्कने प्राथमिकतामा परेकाहरु


सरकारले भारतबाहेकका मुलुकबाट स्वदेश आउने नेपाली नागरिकको पनि प्राथमिकता तोकेको छ।

आदेश अनुसार सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल आउन अनुमति पाएका, जुनसुकै कारणले वहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजक्रिया गर्नुपरेका, श्रम करार अवधि समाप्त भएका वा रोजगरी गुमाएका, कोरोना भाइरसबाहेक अन्य कारणले बिरामी भएकालाई नेपाल आउन दिइनेछ।

यस्तै सुत्केरी तथा गर्भवति भएका, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, अध्ययन समाप्त भएका, नेपाल आउन पर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, कम्पनीबाट रोजगारीसहित विदा पाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाल आउनुपर्ने अवस्था भएका र पर्यटक तथा व्यापारिक भिसा सकिएका नेपाल आउन पाउने छन्।

स्थलमार्गबाट आउनेका लागि निर्धारित प्रवेश विन्दु


सरकारले भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि २० वटा प्रवेश विन्दु तोकेको छ।

आदेशमा उल्लेख भएअनुसार इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिराहाको ठाडी र माडर, महोत्तरीको भिटमोड, सर्लाहीको मंलगवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, नवलपरासी पश्चिमको महेशपुर, रुपन्देहीको वेलहिया, कपिलबस्तुको तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकेको छ।

यस्तै बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, गुलरिया, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको दार्चुलालाई पनि भारतबाट आउने नागरिका लागि प्रवेश विन्दु तोकिएको छ।

स्थानीय प्रशासन र नियोगले विवरण तयार गर्नुपर्ने


आदेश अनुसार भारतदेखि स्थलमार्गबाट आउने नेपाली नागरिकको प्रदेश, जिल्ला र पालिकागत विवरण स्थानीय प्रशासनले तयार गरी सम्बन्धित प्रदेश सरकार र स्थानीय तहलाई अबिलम्ब उपलब्ध गराउनु पर्नेछ।

भारतबाहेकका मुलुकबाट नेपाल आउनेहरुको प्रदेश, जिल्ला र पालिकागत विवरण विदेशस्थित सम्बन्धित नेपाली नियोगले तयार गरी परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई उपलब्ध गराउनु पर्नेछ।

होल्डिङ सेन्टरका लागि पार्टी प्यालेस समेत प्रयोग

सरकारले भारतबाट आउनेहरुका लागि निर्धारित प्रवेश विन्दुको नजिकको विद्यालय वा सामुदायिक भवन वा कभर्ड हल वा पार्टी प्यालेस वा अन्य उपयुक्त खुल्ला स्थान छनौट गरी होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ।

यस्तै भारतबाहेक अन्य मुलुकहरुबाट आउनेहरुका लागि काठमाडौँको चक्रपथ आसपासका उपयुक्त पार्टी प्यालेसहरुमा प्रदेशगत रुपमा कम्तिमा एउटा होल्डिङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ।

भारतबाट आउनेहरुलाई सीमा नाकाको प्रवेश विन्दुमा व्यवस्था गरिएको सवारी साधनबाट र भारतबाहेक अन्य मुलुकबाट आउनेलाई अध्यागमन तथा भन्सारसम्बन्धी प्रक्रिया पुरा गरी प्रदेशगत रुपमा व्यवस्था गरिएका बसबाट नेपाली सेनाको संयोजकत्वमा सोझै होल्डिङ सेन्टरमा लगिनेछ।

उक्त सेन्टरमा उनीहरुको ज्वरो नापिने र एक सय दशमलब चार डिग्री फरेनहाइट ज्वरो आएकालाई आइसोलेसन कक्षमा लैजाने र अन्यलाई नेपाली सेनाको संयोजकत्वमा सम्बन्धित जिल्लाको सदरमुकामसम्म पुर्‍याउने व्यवस्था गर्ने सरकारको निर्णय छ।

यस्तै भारत र तेस्रो मुलुकबाट आएकाले आफ्नो मोबाइलबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘हाम्रो स्वास्थ्य’ एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिमा नियमितरुपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नुपर्नेछ।

१७ सय आपतकालीन क्वारेन्टिन बेडको व्यवस्था


आदेश अनुसार स्थानीय तहले स्वीकृत क्वारेन्टाइन मापदण्ड अनुरुप क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने छ। उसले व्यवस्थापन गरेका क्वारेन्टिनमा बस्नेको लजिस्टिक, खानपिनलगायत अन्य आवश्यक व्यवस्था गर्नेछ।

ती क्वारेन्टाइनको प्रदेश कोभिड-१९ सकंट व्यवस्थापन केन्द्र, जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र स्थानीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वय र सहकार्यमा नेपाली सेनाले काठमाडौँ उपत्यका र मुलुकका विभिन्न स्थानमा रहेका क्वारेन्टिनहरुको सञ्चालन, नियन्त्रण र निर्देश गर्नेछ।

त्यहाँ बस्दा नागरिकले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्नुपर्ने सरकारले अनिवार्य सर्त तोकेको छ।  यस्तै परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको विवरणको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सुपरीवेक्षण र नेपाली सेनाको समन्वयमा स्थानीय प्रशासन तोकेको क्षेत्रमा होटल क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय सरकारको निर्णय छ।

सरकारले आपतकालिन व्यवस्थाकाका लागि सहरी विकास मन्त्रालयले आवश्यक मर्त सुधार गरी नेपाल विद्युत प्राधिकरणको खरिपाटीको तालिम केन्द्रमा ३००, इ‍‍‍‍चगु नारायण आवास क्षेत्रमा ४००, मनमोहन अस्पताल दहचोकमा ५०० सय र केएमसी दुवाकोटमा ५०० क्वारेन्टिन बेड तयार गरी प्रयोग गर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने निर्णय गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter