बिहिबार, १३ बैशाख २०८१

भारतका छिमेकी देशहरु सबै किन दुश्मन बन्दैछन्

प्रीति रमण

१५ जेष्ठ २०७७, बिहीबार १७:०६ मा प्रकाशित

नेपाल र भारतबीचको मित्रतामा सिमा बिवादको प्रसंग बारम्बार उठ्ने गरिरहन्छ । छिमेकी देशहरुबीच सिमा बिबाद हुनुलाई स्वाभाविकै मानिए पनि भारत र नेपालबीचको सिमा बिबाद एक पक्षिय जस्तै देखिंदै आएको छ । खासगरी भारतको मिचाहा प्रबृत्तिले गर्दा सिमा बिबाद भैरहने गरेको छ ।

नेपालले कसैको सिमा दाबी गर्न गएको छैन । अर्थात छिमेकीको सिमा भित्र पसेर जबरजस्ती गर्ने काम नेपालले गरेको ईतिहास नै छैन । तर भारतको  भने कुनै पनि छिमेकीसंग सिमा बिबाद भैरहेको पाईन्छ ।

गतवर्ष ५ अगष्ट २०१९ का दिन भारतले आफ्नो देशको संविधानको अनुच्छेद ३७० मार्फत विशेष राज्यको अधिकार पाएको जम्मु कश्मीरको अधिकार खारेज गर्दै उक्त राज्यलाई दुई टुक्रा बनाउँदै कश्मीरी जनतालाई बन्धक बनाउने काम ग¥यो । करिब एक बर्ष पुग्नै लागिसक्दा पनि कश्मीरी जनतालाई एक अर्कासँग बोल्न, हिँडडुल गर्न र सभा सम्मेलन गर्न समेत प्रतिबन्ध लगाइएको छ । सञ्चारका सबै माध्यममा प्रतिबन्ध लगाइएको छ । यस्तैअवस्था बृटिश उपनिवेशकालमा भारतीय नागरिकहरूको थियो । हालका भारतीय शासकहरुले बृटिश शासनकालमा आफूहरुको अवस्था कस्तो थियो र आजादीका लागि महात्मा गान्धीलाई नेपाली जनता र मुश्लिम समुदायले समेत साथ दिएको थियो भन्ने ईतिहासलाई बिर्सिदिएका छन् ।   दशौँ हजार भारतीय सुरक्षाकर्मीलाई खटाएर कश्मीरीहरूमाथि दमन भइरहेको छ । बृटिशकालीन दासताको मानसिकताबाट प्रभावित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरी जनताको अधिकार खोसेर मानव अधिकारको उल्लंघन गर्दा समेत नेपालबाट नजिकै रहेको कश्मीरका विषयमा भने नेपालका नेता र सरकार एक बचन समेत बोलेका थिएनन्। नेपालका कतिपय नेता तथा कथित वुद्धिजिवीहरूले त कश्मीर भारतको आन्तरिक विषय भएको भन्दै यसमा बोल्न नहुने जिकिर गर्दै आएका छन् । आज भारतले नेपालको पश्चिमी सिमाना अतिक्रमण गरेर सडक निर्माण गरे पछि बल्ल आफ्नो हकमा मुख खोल्न बाध्यता भएको छ ।

जबकी कश्मिर विवाद विगत ७० वर्षदेखि सुल्झिन नसकेको विषय भएकाले संयुक्त राष्ट्रसंघसम्म पुगेर सरोकारवाला निकाय भारत, पाकिस्तान र चीनको समेत सहमतिमा उक्त विषय समाधान गर्न संयुक्त राष्ट्रसंघले आग्रह गरिसकेको विषय हो । तर भारतीय शासकबर्गले अवज्ञा गरेर हस्तक्षेपकारी कदम चालेको छ ।  नेपालको हकमा पनि भारतबाट अतिक्रमित कालापानी क्षेत्र आफ्नो लागि सामरिक महत्वको भएकाले छोड्न नसकिने भनेर डकैतीको भाषा बोल्न लज्जाबोध नगरेकाले भारत खतराजनक भूमिकामा छ भन्ने प्रष्ट हुन्छ ।

कश्मीर विषय दक्षिण एशियाकै स्थिरताका लागि पनि चूनौतिपूर्ण भएकाले यसलाई भारतको मात्र आन्तरिक विषय भन्न कुनै पनि हिसाबले मिल्दैन । अर्कोतर्फ कश्मीरमा हजारौँको संख्यामा नेपालीहरू पनि रहेका छन् । सार्क मुलुकको अध्यक्ष राष्ट्रको हैसियतले पनि त्यहाँ भइरहेको मानव अधिकार उल्लंघनका विषयमा बोल्नु नेपाल सरकारको दायित्व बन्दछ  । तर भारतप्रतिको उच्च बफादारीका कारण नेपालका नेता र नेपाल सरकार कश्मीर विषयमा बोलेनन् र अद्यापी बोलेका छैनन् । तर भारतले नेपालमाथि नै हमला गरेर दुश्मनीपूर्ण ब्यवहार देखाउँदा नेपाल सरकारले नक्सा बनाएर अतिक्रमित भूमिमा दावी गर्ने साहश देखाएकोमा भने संसार चकित भएको छ ।

कुनै बेलाका स्वतन्त्र मुलुक सिक्किम र कश्मीरलाई भारतमा गाभ्ने र उनीहरूको राष्ट्रियता र पहिचानलाई खारेज गर्ने निर्णयलाई सामान्य मान्नु र यी घटनाहरूलाई भारतको आन्तरिक मामिला भनेर मौन रहनु भनेको भोलिको नेपाल पनि चूनौतिका लागि तयार हुनु हो । आफ्नो पहिचान र अधिकारका लागि लडिरहेका कश्मीरीका विषयमा मौन बस्ने नेपाल भोलि सबैभन्दा बढी चूनौति बन्न सक्ने भारतप्रति सचेत रहन जरुरी छ । भारतले नेपालमाथि त्यस्तै कुनै किसिमका हस्तक्षेप गर्न खोज्दा अर्को कुनै मुलुकबाट सहयोग र सद्भावको अपेक्षा गर्नु कुनै पनि हिसाबले नैतिक अधिकार हुने छैन भनेर पंक्तिकारले धेरै पटक लेख्दै आएको हो ।

अन्याय भनेको सिक्किमी, कश्मिरी,पाकिस्तानी, बंगलादेशी वा चीनका बिरुद्द नै किन नहोस् जहाँ पनि उस्तै हुन्छ । त्यो अमेरिकाले गरोस वा भारतले र चीनले । त्यसैले त्यसका विरुद्ध बोल्ने हिम्मत कमसेकम सत्तारुढ नेकपाले गर्नुपर्दथ्यो । तर विडम्बना १ नेपाल सरकार भारतकै बफादार रहेको शैलीमा प्रश्तुत हुँदै आएको देखियो । नेपालको सिमा भित्र सडक बनाउदा पनि रोक्न र आफ्नो भूमि फिर्ता माग्न पत्राचार गर्ने हिम्मत समेत देखाउन सकेको छैन नेपाल सरकारले ।

नेपालमाथि सिमा अतिक्रमण गरेर भारत सरकारले ब्रिटिशकालीन दासताको मानसिकता देखाएको छ। हिजो हामी अरुका दास बनेका थियौं भने हामीले पनि अरुलाई दास बनाउनुपर्छ भन्ने मानसिकता भारतीय शासकहरूमा देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त भारतीय शासकको सोचलाई नाजिवादी हिटलरसँग तुलना गरेर घृणा ब्यक्त गरेका थिए ।  नेपालमाथि गरेको  हस्तक्षेपले भारतीय शासक वर्ग आफ्ना स्वार्थ पुरा गराउन मानवियता र मानव अधिकारलाई  चिन्दैन भन्ने कुरा स्पष्ट भएको छ । भारतले नेपाललाई सानो मुलुक ठानेर हेपाहा ब्यवहार गरिरहेको छ , तर नेपालसंग युद्दको चाहना भारतीय शासकवर्गलाई धेरै नै महंगो मूल्य चुकाउनु पर्ने अवस्थाको हुनेछ । नेपालको पक्षमा सबै छिमेकी देशहरु उभिने छन् , भारतीय शासक बर्गलाई चेतना भया

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter