शुक्रबार, १६ चैत २०८०

संकटमा खाडी रोजगारी: कुन देशबाट कति नेपाली फर्कन सक्छन् ?

३१ बैशाख २०७७, बुधबार ००:३३ मा प्रकाशित

काठमाडौँ – कोरोना भाइरसको महामारीबीच वैदेशिक रोजगारीमा रहेका हजारौँ नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको सरकारले अनुमान गरेको छ।

उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले तयारी गरिरहेको छ। चैत ११ गतेदेखि सरकारले लागु गरेको देशव्यापी लकडाउनका कारण  विदेशमा रोजगारसहित विभिन्न काममा रहेका नेपाली फर्कन पाएका छैनन्।

सरकारले वैदेशिक रोजगारीका मुख्य गन्तव्य अर्थात खाडीका ७ देशबाट तत्काल एक लाख २७ हजार कामदार नेपाल फर्कने स्थितीमा रहेको जनाएको छ। उनीहरु भिसा तथा करार अवधि सकिएका र आम माफी पाएका हुन्।

त्यसबाहेक लकडाउन खुलेलगत्तै कम्तिमा २ लाख ८० हजार कामदारहरु ती देशबाट फर्कन सक्ने सरकारको अनुमान छ। १५ प्रतिशत श्रमिकले रोजगारी गुमाउन सक्ने विभिन्न निकायको प्रक्षेपणका आधारमा यति नेपाली श्रमिक फर्कन सक्ने अनुमान गरिएको छ।  खाडीका सात देशमा १३ लाख ४८ हजार ८ सय ७२ नेपाली कामदार कार्यरत छन्।

मलेसियामा ३ लाख २५ हजार नेपाली कामदार छन्। करार अवधि सकिएका र आम माफी पाएका श्रमिकको संख्या ७ हजार छ।लकडाउनपछि मलेसियामा कम्तिमा ३० हजार नेपालीले रोजगारी गुमाउन सक्ने सरकारी अनुमान छ।

कतारमा तीन लाख ५१ हजार ८ सय ७२ जना नेपाली श्रमिक छन्। करार अवधि सकिएका र आम माफी पाएका नेपाली श्रमिकको संख्या ७५ हजार रहेको छ। यहाँ ७० हजार श्रमिकले रोजगारी गुमाउन सक्ने अनुमान गरिएको छ।

साउदी अरबमा तीन लाख ५ हजार नेपाली श्रमिक रहेकामा २० हजार करार अवधि सकिएका र आम माफी पाएका छन्। लकडाउनपछि साउदी अरबमा १ लाख नेपाली कामदारले रोजगारी गुमाउन सक्ने सरकारी अनुमान छ।

युएईमा २ लाख ७५ हजार, कुवेतमा ५० हजार, बहराइनमा ३५ हजार र ओमानमा ७ हजार नेपाली श्रमिक छन्। यूएईमा करार अवधि सकिएका र आम माफी पाएका१२ हजार र रोजगारी गुमाउन सक्ने ५५ हजार नेपाली कामदार छन्। कुवेतमा ९ हजार नेपाली श्रमिक करार अवधि सकिएका र आम माफी पाएका छन् भने १५ हजारले रोजगारी गुमाउन सक्नेछन्।

बहराइनमा करार अवधि सकिएका र आम माफी पाएका नेपाली कामदारको संख्या ३ हजार पाँच सय छ भने ७ हजारले रोजगारी गुमाउन सक्नेछन्। ओमानमा करार अवधि सकिएका र आम माफी पाएका नेपाली कामदारको संख्या पाँच सय छ। ३ हजारले लकडाउनपछि रोजगारी गुमाउन सक्ने सरकारी अनुमान छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter