शनिबार, १५ बैशाख २०८१

बालिवूड अभिनेता इरफान खानको निधन

१७ बैशाख २०७७, बुधबार १४:५६ मा प्रकाशित

मुंबई: आज बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको निधनको पुष्टि गर्दै परिवारले जारी गरेको वक्तव्यमा इरफानले जीवनको अन्तिम क्षण परिवारका सदस्यको बिचमा बिताएको उल्लेख छ । वक्तव्यमा लेखिएको छ, ‘उनले जीवनको अन्तिम क्षमण आफ्ना प्रियजन, उनले सबैभन्दा ख्याल गर्ने परिवारका सदस्यबाट घेरिएर बिताए ।’

मंगलबार अस्पताल भर्ना गरिएपछि पनि खानको स्वास्थ्य के कारणले बिग्रियो वा समस्या के भएको हो भन्ने खुलाइएको थिएन ।

इरफान खानका प्रवक्ताले वक्तव्य जारी गरेर भनेका थिए, ‘यो सत्य हो कि इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई कोलन इन्फेक्सन भएको छ । हामी जानकारी दिँदै जाने छौँ ।’

पाँच दिनअघि (अप्रिल २५) इरफानकी आमा सईदा बेगमको निधन भएको थियो । लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारका लागि जयपुर जान पाएका थिएनन् । उनी भिडियो कल मार्फत आमाको अन्तिम यात्रामा सामेल भएका थिए ।

५४ वर्षका इरफान गएको वर्ष लण्डनबाट मुम्बई फर्किएका थिए । उनी एक वर्ष लण्डनमा उपचार गराएर फर्किएपछि काममा सक्रिय हुन थालेका थिए । मुम्बई फर्किएपछि उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा उपचार तथा नियमित चेक गर्दै आएका थिए ।

उनले मुम्बई फर्किएपछि अभिनय गरेको चलचित्र ‘अंग्रेजी मिडियम’ हालै प्रदर्शनमा आएको थियो । सो चलचित्रको छायाँकनको क्रममा पनि उनको स्वास्थ्य बिग्रिने गरेको थियो । धेरैपटक उनको स्वास्थ्य बिग्रिएका कारण छायाँकन केही बेर रोक्नु परेको थियो ।

उनलाई सन् २०१८ को मार्चमा न्यूरोएण्डोक्राइन ट्युमर भएको थियो । त्यसपछि लण्डनमा उपचार गराएर उनी मार्च २०१९ मा मुम्बई फर्किएका थिए ।

निर्देशक शूजीत सरकारले इरफान खानको निधनबारे पुष्टि गर्दै ट्वीटरमा लेखेका छन्, ‘मेरो प्यारो साथी इरफान, तिमी लड्यौ र लडिरह्यौ । मलाई तिमीमाथि जहिले गर्व रहने छ । हामी फेरि भेट हुनेछौँ । सुतापा र बाबिललाई मेरो समवेदना । तिमीले पनि युद्ध लड्यौ, सुतापा यो लडाईँमा तिमीले जे गर्न सक्ने थियौ सबै गरेकी हौ । ओम शान्ति । सलाम इरफान खान ।’

अभिनेता खानलाई श्रद्धाञ्जली दिँदै अभिनेत्री मनिषा कोइरालाले ट्वीट गरेकी छन्, ‘म स्तब्ध छु, आत्माले शान्ति पाओस् मेरो साथी…जसलाई म आदर र अति मनपराउँछु ।’ कामहरुबाट सदैव इरफान जीवित रहने उनले उल्लखे गरेकी छन् ।

यसैगरी कांग्रेस नेता राहुल गान्धीले ट्वीट गरेर इरफानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनी विश्वमञ्चमा चलचित्र तथा टेलिभिजन क्षेत्रका लोकप्रिय भारतीय दूत रहेको उल्लेख गरेका राहुल गान्धीले पीडाको यो घडीमा परिवार तथा आफन्त, साथी र उनका सबै फ्यानहरुप्रति समवेदना व्यक्त गरेका छन् ।

गृहमन्त्री अमित शाहले इरानप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनी बहुमुखी क्षमताका धनी रहेको र सोही कारण उनले विश्वव्यापी रुपमा आफ्नो पहिचान बनाउन सकेको उल्लेख गरेका छन् ।

यस्तै एमजे अकबरले इरफान खान एक शदीमा विरलै मात्र आउने क्षमतावान व्यक्ति रहेको उल्लेख गरेका छन्।

अमिताभ बच्च, तापसी पन्नु, भूमि पेडनेकर, करण जोहर, सोनम कपूर आहुजा, मिनी माथौर, शेखर कपूरसहितले ट्वीट गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

इरफानले द लञ्च बक्स, हलिउड ब्लकबस्टर हिट जुरासिक पार्क, हिन्दी मिडियम, पिकु, पान सिंह तोमरसहितका धेरै चलचित्रमा काम गरेका छन् ।

इरफानले पान सिंह तोमरका लागि सर्वोत्कृष्ट अभिनेताका रुपमा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । यस्तै उनले चारपटक फिल्मफेयर अवार्ड पनि जितेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter