बिहिबार, ०६ बैशाख २०८१

भ्यूटावर प्रयोगमा आएपछि पर्यटक बढे

७ कार्तिक २०७६, बिहीबार १२:५० मा प्रकाशित

गाईघाट, ७ कात्तिक  चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ ।अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङ बताउनुहुन्छ । उहाँकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडाँै चितवन तथा भारतको बिहार र सिलीगुढी पश्चिम बङ्गालबाटसमेत पर्यटक आउने गरेका छन् ।पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि त्यहाँको आन्तरिक पर्यटनको विकासमा निकै मद्दत पुगेको नगरप्रमुख खगेन्द्र राई बताउनुहुन्छ । उहाँकानुसार पूर्वकै ऐतिहासिक र महत्वपूर्ण पर्यटनस्थलको रुपमा रहेको चौदण्डीगढीको पर्यटन विकास गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय, पर्यटन विभागसहित स्थानीय नगरपालिका र सबैको सहयोगले अहिले सडक तथा भ्यूटावर निर्माण भएकाले पर्यटकको बृद्धि भएकोे हो ।विसं २०७२ मा नेपाल सरकार शहरी विकास मन्त्रालयसहित पर्यटन बोर्ड र स्थानीय सरकारसहितबाट सहयोगस्वरूप प्राप्त रू ५५ लाख ८८ हजार र १३ लाख १७ हजार बराबरको स्थानीय जनश्रमदान गरेर कूल रु ६९ लाख ८५ हजारको लागतमा समुद्री सतहबाट एक हजार ८५० मिटरको उचाईको उक्त डाँडामा ४४ फिट उचाई र अठार मिटर गोलाइको भ्यूटावर निर्माण भएको नगरप्रमुख राईको भनाइ छ । उक्त भ्यूटावरबाट अहिले उत्तरी क्षेत्रको सातवटा हिमशृङ्खला सगरमाथा, आमादोल्मा, लोत्से, कोयु, मकालु, कञ्चनजङ्घा र अरुणबरुण क्षेत्रका हिमशृङ्खला प्रत्यक्ष अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ ।यस्तै उत्तरी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, धनकुटा, सुङ्खुवासभा, र तराईका जिल्ला सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापासहित भारतको बिहार, पश्चिम बङ्गालको सिलीगुडीसम्म बाइनाकुलरबाट अवलोकन गर्न सकिने उहाँको भनाइ छ । पर्यटकको वृद्धि भएका कारण आफूहरुको व्यापार व्यवसाय पनि निकै फष्टाउन थालेको स्थानीय होटल व्यवसायी कला राई उल्लेख गर्नुहुन्छ । चौदण्डीगढीले पर्यटन विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेपनि अझै पनि खानेपानीको उचित व्यवस्थापन गर्न बाँकी रहेकाले सुनकोशी नदीबाट उक्त डाँडामा पानी लिफ्टिङ गरेर लाने तयारी भइरहेको र विद्युत्को विस्तार गर्ने कार्य शुरु भइरहेकामा दुई वर्षसम्ममा सबै पूर्वाधार तयार पारिने नगरप्रमुख राई बताउनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter