शुक्रबार, ०७ बैशाख २०८१

आलेख ः छात्राहरु अहिले कक्षा टुटाउँदैनन् !

६ कार्तिक २०७६, बुधबार १५:५८ मा प्रकाशित

बेझाड, पाल्पा, ६ कात्तिक    आलेख ः छात्राहरु अहिले कक्षा टुटाउँदैनन् ! – सुशीला रेग्मी बेझाड, पाल्पा, ६ कात्तिक (रासस) ः रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी माविमा पाँच÷सात वर्ष पहिले महिनावारीका बेला धेरै छात्रा विद्यालय नै जाँदैनथे । कतिपय बीचमै कक्षा छाडेर घर फर्कन्थे । आफ्नो समस्याबारे खुल्न लाज मान्ने उनीहरू घर फर्कन विभिन्न बहाना बनाउँथे । यसको कारण हो – विद्यालयमा छात्रामैत्री शौचालयको अभाव । सिधै शिक्षकसामु आफ्ना समस्या खुलेर बताउन नसक्दा छात्राहरु घरायसी काम, बिसञ्चो जस्ता समस्या बताउँथे र घर जान्थे । त्यसकारण विद्यालयमा उनीहरुको उपस्थिति टुट्न पुग्थ्यो । अहिले समय बदलिएको छ, यो समस्या सधंैका लागि टरेको देखिएको छ । छात्रामैत्री शौचालय विद्यालयले निर्माण गरिदिएपछि अहिले महीनावारीका समय विद्यालयमा छात्राहरुको अनुपस्थित हुने दर शून्यमा झरेको छ । कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या अधिकारीलाई महीनावारीको समस्या आएपछि निकै पिरोल्थ्यो तर, अहिले शौचालयको राम्रो प्रबन्ध भएपछि महीनावारीका समय भए पनि उहाँ अप्ठेरो मान्नुहुन्न र नियमित विद्यालय जानुहुन्छ । “महिनावारी भएपछि नचाहँदा नचाहँदै पनि घरमै बस्नुपर्ने बाध्यता हुन्थ्यो,” उहाँले भन्नुभयो – “अहिले छात्रामैत्री शौचालय बनेपछि नियमित विद्यालय जान थालेकी छु ।” सोही कक्षामा पढ्ने अर्पणा खनाल पनि महीनावारीका बेला बीचमै विद्यालय छाडेर घर फर्कने गर्नुहुन्थ्यो । उहाँलाई महीनावारीको समय बिताउन निकै कष्ट पथ्र्यो । विद्यालयमै सेनेटरी प्याडको व्यवस्था र छात्रामैत्री शौचालय बनेपछि भने उहाँ नियमित विद्यालय जाने गर्नुभएको छ । “विद्यालयमै सेनेटरी प्याड र बालिकामैत्री अत्याधुनिक सुविधा सहितको शौचालय बनेको छ, छात्रालाई महीनावारीका समय सहज भएको छ” – उहाँले भन्नुभयो । महीनावारीका बखत विद्यालयमा सेनेटरी प्याडको व्यवस्था र छात्रामैत्री शौचालय नहुँदा कक्षा टुटाउने उहाँ आफूसँग अन्य साथी पनि अहिले सँगसँगै नियमित विद्यालय आउने जाने गरेको बताउनुभयो । महीनावारीका समय दुईदेखि तीन दिनको समय छात्राहरु विद्यालयमा अनुपस्थित हुने गर्थे । महिनावारीका समयमा छात्राहरु बीचमै कक्षा छाड्ने र विद्यालय नआउने गरेको पाएपछि विद्यालयले छात्रामैत्री शौचालय निर्माणमा ध्यान दिएको हो । विद्यालयले छात्राहरुले मात्र प्रयोग गर्ने गरी करीव २३ लाखको लागतमा १५ कोठासहितको अत्याधुनिक छात्रामैत्री शौचालय निर्माण गरेको छ । यो सहित अहिले २० कोठाको छात्रामैत्री शौचालय छात्राहरुले मात्र दैनिक प्रयोग गरिरहेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । “पर्याप्त छात्रामैत्री शौचालय, सेनेटरी प्याडको व्यवस्था लगायतको सुविधासम्पन्न शौचालय भवन बनेको छ, यहाँ छात्राहरुका लागि छुट्टै शौचालय बनेपछि महीनावारीको पर्वाह नगरी नियमित रुपमा विद्यालय आउन थालेका छन्” – उहाँले भन्नुभयो । विद्यालयमा हाल ४० कोठासहितको शौचालय दैनिक प्रयोगमा छ जहाँ एकै पटकमा १२५ जनाले प्रयोग गर्न सक्छन् । छात्राहरु महीनावारी भएका बेला पहिला पेट दुखेको, टाउको दुखेको जस्ता अत्तो थापेर घर जाने गरेको पाइएपछि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गर्न थालेको शिक्षिका विनिता भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार अझै पनि दश प्रतिशत छात्राहरुले आफै सेनेटरी प्याड माग्न हिच्किचाउने र साथीहरुमार्फत माग्न लगाउने गरेका छन् । त्यसैगरी, रामपुर नगरपालिका–८ स्थित गंगा माविमा छात्रालाई लक्ष्य गरी ३ वर्ष अघिदेखि छात्रामैत्री शौचालय निर्माण गरी प्रयोगमा ल्याइएको छ । शौचालय बनेपछि छात्राहरु नियमित रुपमा विद्यालय आउँछन्, कक्षा त्याग्दैनन् । छात्राको बीचमै घर फर्कने प्रवृत्तिमा कमी आएको प्रधानाध्यापक देवराज देवकोटा बताउनुहुन्छ । विद्यालयले एकैपटकमा १५ जनाले प्रयोग गर्न मिल्ने खालको छात्रामैत्री शौचालय भवन बनाएको छ । तीन वर्ष अगाडि धेरैजसो छात्रा हरेक महिना दुई÷तीन दिन घरमै बस्ने र विद्यालय गएका बखत महीनावारी भए बीचमै पढाइ छाडेर घर फर्कने गरेकामा अहिले यो अवस्थामा राम्रो सुधार आएको छ । विद्यालयमा छात्राहरुका लागि छुट्टै शौचालय आफूहरुलाई सहज भएको कक्षा १० मा पढ्ने छात्रा अमिशा ढुंगानाले बताउनुभयो । पाल्पा जिल्लामा सामुदायिक र संस्थागत गरी जम्मा ४९३ विद्यालय सञ्चालित छन् । हाल ३०३ विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भइसकेको थाहा भएको छ । जिल्ला शिक्षा समन्वय कार्यान्वयन इकाई समिति पाल्पाका प्रमुख रमेशराज पौडेलका अनुसार १८५ विद्यालयले व्यवस्थित तरीकाले सेनेटरी प्याडसहितको अत्याधुनिक शौचालय सञ्चालनमा ल्याइसकेका छन् । “छात्रामैत्री शौचालय र सेनेटरी प्याडको व्यवस्था गरेका विद्यालयमा छात्राहरुको उपस्थिति राम्रो रहेको पाइएको छ, यो व्यवस्था सबै विद्यालयमा अनिवार्य गर्न जोड दिइरहेका छौँ” – उहाँले भन्नुभयो । केही विद्यालय आफैंले सेनेटरी प्याडको प्रबन्ध गरेको छ भने केही विद्यालयमा विद्यार्थी बालमञ्च र रेडक्रसको सहकार्यमा प्याडको व्यवस्था गरिएको पाइएको छ । कात्तिक १ गतेदेखि नेपाल सरकारले सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको हो । ग्रामीण भेगका केही विद्यालयमा भने अझै पनि शौचालय प्रवन्ध हुन नसक्दा छात्राहरू महीनावारीका बेला घरमै बस्ने गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter