शुक्रबार, ०७ बैशाख २०८१

सुनसरीका कृषक तरकारी खेतीतर्फ आकर्षित

६ कार्तिक २०७६, बुधबार १५:३५ मा प्रकाशित

इनरुवा, ६ कात्तिक  सुनसरी देवानगञ्ज गाउँपालिका–४ का रुपेश मेहताले एक बिघा पाँच कट्ठा जग्गामा अहिले तरकारी खेती गर्नुभएको छ । मेहताले एक बिघा जग्गामा काउली, दुई कट्ठा जग्गामा बन्दाकोबी र तीन कट्ठा जग्गामा मुला लगाउनुभएकोे छ । मेहताले करीब रु एक लाख ५० हजारको लागतमा तरकारी खेती गर्नुभयो । उहाँ जस्तै देवानगञ्ज गाउँपालिका–३ का अरबिन्द गुप्ताले १८ कट्ठा जग्गामा काउली खेती गर्नुभएको छ । गुप्ताले रु ८० हजारको लगतमा आफूसँग भएको १८ कट्ठा जग्गामा अन्य कुनै बाली नगरेर तरकारी बाली लगाउनुभयो । त्यस्तै देवानगञ्ज गाउँपालिका–३ का जनकलाल मेहताले दुई बिघा १३ कट्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । आफूसँग भएको जग्गामा जनकलालले १० कट्ठामा काउली, १५ कट्ठामा ब्रोकाउली, १० कट्ठामा बन्दाकोबी, पाँच कट्ठामा भण्टा, तीन कट्ठामा मुला र १० कट्ठामा अलुवाखेती गर्नुभएको छ । उहाँले रु दुई लाखको लागतमा तरकारी खेती गर्नुभएको हो । त्यस्तै देवानगञ्ज गाउँपालिका–३ का सरजुग मेहताले एक बिघा तीन कट्ठामा तरकारीखेती गर्नुभएको छ । उहाँले एक बिघामा काउली र तीन कट्ठा जग्गामा टमाटरखेती गर्नुभएको छ । रु एक लाख २५ हजारको लगानीमा एक बिघा तीन कट्ठामा तरकारी खेती गर्नुभएको छ । त्यस्तै देवानगञ्ज गाउँपालिका–४ का विन्देश्वरी पण्डितले दुई बिघा जग्गामा तरकारी खेती गर्नुभएको छ । उहाँहरु त्यस क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै त्यस क्षेत्रका सयाँै कृषकले तरकारी खेती गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन । धान, मकै, गहुँलगायतका अन्य बालीबाट राम्रो आम्दानी हुन छोडेपछि अहिले त्यस क्षेत्रका कृषक काउलीखेतीलाई मुख्य पेशाको रुपमा लिएका छन् । आफूहरुले काउली खेतीबाट मात्रै वार्षिकरुपमा रु पाँच लाखदेखि १० लाखसम्म आम्दानी गर्ने गरेको र भएको आम्दानीबाट छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुका साथै घरपरिवार समेत चलाउन सफल भएको कृषक बिन्देश्वर पण्डितले बताउनुभयो । तरकारी खेतीबाट सोचेको जस्तो आम्दानी भए पनि समस्या पनि उत्तिकै रहेको स्थानीय डुमरलाल मेहताले बताउनुभयो । कृषकलाई समयमा जनमजदुर नपाउनु, समयमा सिँचाइ उपलब्ध नहुनु, समयमा खाद्य मलको सुविधा नहुनु, उत्पादन भएको तरकारीको बजार नपाउनु, लगानीअनुसारको तरकारीको मूल्य नपाउनुलगायतको समस्या रहेको अनुपम तरकारी कृषि सहकारी संस्थाका अध्यक्ष रामवृक्ष मेहताले बताउनुभयो । सुनसरीमा अहिले वार्षिकरुपमा रु एक अर्बभन्दा बढीको तरकारीको कारोवार हँुदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताउनुभयो । जिल्लामा वार्षिकरुपमा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको छ । तरकारी खेतीका लागि विभिन्न समस्याको सामना गर्दै आएको कृषकलाई समस्याबाट मुक्त गराउन र तरकारीखेतीतर्फ अझ आकर्षित गर्नका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter