शनिबार, ०८ बैशाख २०८१

आयोडिन नुन प्रयोगमा वृद्धि

६ कार्तिक २०७६, बुधबार १०:५२ मा प्रकाशित

जाजरकोट, ६ कात्तिक  सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो । सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर नजिकैबाट नुन पाएका हुन् । जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको छेडागाड नगरपालिकाको थलह र सदरमुकाम खलङ्गाबाट आयोडिनयुक्त सहुलियत नुन वितरण भइरहेको शाखाका प्रमुख भरत श्रेष्ठले बताउनुभयो । पाँच वर्ष पहिले ढिकेनुन मात्र प्रयोग गर्ने जिल्लावासी अहिले पूरै आयोडिनयुक्त नुन प्रयोग गर्न पाएपछि खुशी छन् । आयोडिनयुक्त नुन प्रयोग दर बढेसँगै ढिकेनुन विस्थापित भएको नलगाड नपाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । जनताको मागअनुसार आयोडिनयुक्त सहुलियतको नुन जनताले पाएको उहाँले बताउनुभयो । आयोडिनयुक्त नुन प्रयोगका फाइदा थाहा पाएकै करण पनि प्रयोग दर बढेको हो । अझै आयोडिनयुक्त नुनको प्रयोग बढाउन जिल्लाका बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा डिपो विस्तार गर्नुपर्ने मागसमेत उठेको छ । सडक सञ्जालसँग जिल्लाका सबै ठाउँ नजोडिएका कारण अझै आयोडिनयुक्त नुन सर्वसाधारणले पाउन नसकेका हुन् । बारेकोट गाउँपालिकाको मुलसाम, जिरीबाट नलगाड नगरपालिकाको दल्लीमा नुन ल्याउनका लागि दुई दिन लाग्ने गर्दछ । पश्चिमको थलह बजारमा रहेको डिपोबाट जुनिचाँदे गाउँपालिकामा नुन ल्याउन दुई दिन लाग्ने गर्दछ । त्यस्तै कुशे गाउँपालिकामा समेत अझै आडोडिन नुन ल्याउन समस्या हुँदै आएको छ । जुनिचाँदे, कुशेगाउँपालिका र बारेकोट गाउँपालिकामा आयोडिनयुक्त नुन वितरण गर्ने डिपो नहुँदा स्थानीयवासी दुई दिन हिँडेर नुन ल्याउन बाध्य छन् । अबका दुई वर्षभित्र जिल्लाका सबै ठाउँमा सडक सञ्जाल जोडिएमा सबैको पहुँचमा आयोडिननुन हुने सरोकारवालाको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter