शुक्रबार, ०७ बैशाख २०८१

माटोको भाडा बनाउन भ्याइनभ्याई

अजितकुमार झा

५ कार्तिक २०७६, मंगलवार १५:१९ मा प्रकाशित

इनरुवा, ५ कात्तिक  तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो । कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरेको छ । एक महीना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ । नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दीपावली तथा छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ । तिहार र छठ पर्वका लागि आवश्यक पर्ने माटोको भाडा बनाउँदा बनाउँदै दिन बित्छ, सियाराम पण्डित भन्नुभयो, “तिहार र छठ पर्व मेरो लागि वर्षभरिको ऋण चुक्ता गर्ने अवसर हो । घर चलाउन पसलबाट लिएको उधारो तिहार र छठ पर्वमा माटोको भाडा बेचेर चुक्ता गर्नु छ ।” सियारामसँगै देवनारायण पण्डितलाई पनि दियो, चौमुखे दियो, कलशलगायतका सामग्री बनाउन भ्याइनभ्याई छ । तिहार र छठ पर्वमा खर्च कटाएर ती सामग्री बेचर करिब ३० हजारसम्म बचत हुने भएकाले उनीहरु अहोरात्र यो काममा खटिएका छन् । रोजगारी अभावमा फुर्सदमा घरमा बस्ने महिलाहरु पनि यतिबेला सो काममा पुरुषहरुलाई सहयोग गर्ने गरेका छन् । पण्डितअर्थात कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाडाकुँडा बनाउने रहेकाले सो कार्यक्रमा व्यस्त बनेको छ । आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडिदेखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताउनुभयो । प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाडो बनाई गाउँघरदेखि शहरसम्म बेच्ने गरेको छ । सरकारले यो पेशालाई संरक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter