शुक्रबार, १६ चैत २०८०

बैतडीमा डोजर आक्रमणः आठ घाइते

५ कार्तिक २०७६, मंगलवार १४:४७ मा प्रकाशित

बैतडी, ५ कात्तिक  सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिनुभयो । सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उहाँले बताउनुभयो । सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूहरुको जमीनमा जबर्जस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको हो ।” तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढुङ्गामुढा गरेपछि झडपको स्थिति आएको बताएको छ । आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो । पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको ढुङ्गामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइरहेको सडकका विषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । डोजर चालकसहित चार पक्राउ सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter