बिहिबार, १५ चैत २०८०

पर्यटन विकास लक्षित गरी खेलमैदान

५ कार्तिक २०७६, मंगलवार १०:३५ मा प्रकाशित

पोखरा, ५ कात्तिक    पोखरा महानगरपालिका–२८ माझठानास्थित ढुङ्गेथानमा ‘शहीद थमन परियार स्मृति खेल मैदान’ निर्माण गरिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थानमा महानगरपालिका र स्थानीय जनसहभागितासहित रु छ लाख ५० हजारको लागतमा शहीद थमन परियारको स्मृतिमा खेलमैदान बनाइएको हो । महानगरको सामाजिक विकास शाखाको रु तीन लाख, वडा नं २८ को रु दुई लाख र रु एक लाख ५० हजार बराबरको स्थानीय जनसहभागितामा खेलमैदानको निर्माण सम्पन्न गरिएको माझठाना ढुङ्गेथान खेलमैदान उपभोक्ता समितिका अध्यक्ष मनमोहन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनका क्रममा विसं २०६३ कात्तिक ६ गते शहादत प्राप्त गर्नुभएका शहीद थमन परियारको जन्मस्थानस्थित लगभग पाँच रोपनी सार्वजनिक जग्गामा खेलमैदान निर्माण गरिएको हो । खेलकूदका माध्यमबाट शहीदलाई स्मरण गर्ने लक्षयका साथ निर्मित उक्त मैदानमा प्यारापिटसहित तारजालीले बार्दै अन्य आवश्यक भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो । बाँकी कामका लागि सम्बन्धित निकायमा आवश्यक रकमको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ । प्राचीनकालदेखि कास्कीमा प्रचलित बैदामको बारी, आर्वाको घारी र माझठानाको टारी भन्ने उक्तिका कारण ख्याती कमाएको माझठानामा निर्मित खेलमैदानलाई यस क्षेत्रमा खेलकूदको विकासका लागि अत्यन्त महत्वका साथ हेरिएको छ । नवनिर्मित खेलमैदानमा नजिकिँदै गरेको दीपावलीका अवसरमा यही कात्तिक ६ देखि ८ गतेसम्म अन्तर वडास्तरीय भलिबल प्रतियोगिता गरिने भएको थमन परियार स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिनुभयो । खेल मैदानलाई खेलकूदमा मात्र सीमित नराखी बहुपयोगी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले उक्त स्थानमा बहुउद्देश्यीय भवन निर्माण गरी स्थानीय उत्पादनको बजारीकरणका लागि सहयोग पु¥याउने उद्देश्यका साथ प्रत्येक वर्ष कृषि प्रदर्शनीको आयोजना गरिने बताउनुभयो । विसं २००३ मा माझठानामा जन्मनुभएका शहीद थमन परियार राजनीतिज्ञ, विचारक, लेखक, कलाकार, पत्रकार, सङ्गीतकारका रुपमा समेत परिचित हुनुहुन्थ्यो । परियारको स्मृतिमा निर्मित खेलकूद मैदानका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । पृथ्वी राजमार्गको विजयपुरबाट कालीका, सुर्केमैदान, ओखले, सौरे हुँदै सो खेलकूद मैदान पुग्न १२ किलोमिटरको दूरी पार गर्नुपर्छ । उक्त स्थानसम्म पुग्न महानगरपालिकाको सक्रियतामा सडक स्तरोन्नति गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter