बिहिबार, १५ चैत २०८०

विकासको केन्द्रमा पर्दैछ जाजरकोट

हेमन्त केसी

३ कार्तिक २०७६, आईतवार १३:१४ मा प्रकाशित

जाजरकोट, ३ कात्तिक  पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो । राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह–छिन्चु–जाजरकोट–डोल्पा हुँदै चीन जोड्ने सडक (भेरी करिडोर), रुकुमपूर्व, पश्चिम हुँदै जाजरकोटबाट दैलेख जोड्ने मध्यपहाडी लोकमार्ग (पुष्पलाल) छिन्चु–सल्यान–जाजरकोटबाट जुम्ला–रारा सडक (जाजरकोट–जुम्ला–रारा), लुम्बिनी–दाङ हुँदै जाजरकोट–रारा सडक (लुम्बिनी–रारा सडक) र जाजरकोट–नलगाड नगरपालिका–बारेकोट गाउँपालिका हुँदै जुम्ला जोड्ने सडक जाजरकोट भएर गएका कारण जिल्लाको बीच भागमा परेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रासससँगको कुराकानीमा बताउनुभयो । व्यापारिक दृष्टिकोणले जिल्ला केन्द्रमा भएका कारण विकासको गति अनि यसको फाइदा लिन सके जिल्लाको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने मन्त्री बस्नेतले बताउनुभयो । अहिले सबै सडकहरु निर्माण कार्य धमाधम चलिरहेको छ । सडकहरुको बीचमा रहेका पुलहरुसमेत प्राविधिक लागत अनुमान गरी निर्माणमा तीव्रता दिइएको उहाँको भनाइ छ । छिन्चु–जाजरकोट सडकखण्डमा अहिले कालोपत्र भइसकेको छ । जाजरकोट सदरमुकाम हुँदै पाँचकाटियासम्मको सडकमा कालोपत्रका लागि प्रक्रियामा गइसकेको सडक विभागले जनाएको छ । त्यस्तै मध्यपहाडी लोकमार्गमा जाजरकोट खण्डमा कालोपत्रको काम धमाधम भइरहेको छ । जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकामदेखि दल्लीसम्मको सडकमा यसै आर्थिक वर्षदेखि कालोपत्रको काम शुरु हुन लागेको छ । जिल्लाका आन्तरिक सडक छेडा–मार्क–शिवालय हुँदै कचाली जुम्ला सडकको निर्माण कार्य जारी रहेको छ । यो आर्थिक वर्षमा कालोपत्र र स्तरोन्नतिका लागि थप बजेट आई कार्यान्वयन तहमा पुगेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । विकास भएन भनी रुने दिन गएको भन्दै उहाँले अब जिल्लामा उत्पादन भएका वस्तुलाई बजारीकरण गरी अर्थोपार्जनतिर लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आउने सामग्री ल्याएर आएको गाडी फर्कँदा रित्तो जाने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो ।” त्यस्तै जिल्लालाई विद्युतीकरण गर्नका लागि तीन ठाउँमा विद्युत्का सवस्टेशन निर्माण कार्य शुरु भएको छ । एक ठाउँमा सवस्टेशन निर्माण कार्य पूरा भएर विद्युत् वितरण गर्ने काम सञ्चालन भएको छ । मुख्य–मुख्य सडकको केन्द्र भागमा सवस्टेशन निर्माण गरी विद्युत् वितरण गर्न मन्त्री बस्नेतले बनाएको कार्ययोजनाअनुसार काम भइरहेको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने अन्तिम तयारीमा पुगेको छ । आयोजनाले पहिलेको भन्दा ४१० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि अहिले बाँधस्थलको उचाइ बढेका कारण थप सात मेगावाट विद्युत् उत्पादन वृद्धि हुने प्रतिवेदन तयार गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि प्रक्रिया शुरु भइसकेको छ । जिल्लामा जोडिएको सडक सञ्जालसँग विद्युत् लाइनहरु मिलाएर गएमा काम छिटो हुने र सबै ठाउँमा पुग्न प्रभावकारिता भएको मन्त्री बस्नेतको दाबी छ । भौगोलिकरूपमा अलि जटिल रहेको जाजरकोटमा सडक विकास र विद्युतीकरण जिल्लाभर बनाउन अब कम्तीमा तीन वर्षभन्दा बढी नलाग्ने सरोकारवालाको भनाइ छ । सात स्थानीय तहलाई सडकसँग जोडिने जिल्लाका सात स्थानीय तहलाई यसै वर्ष सडक सञ्जालले छुने स्थानीय सरकारका प्रमुखले बताएका छन् । सडक सञ्जाल पुगेसँगै स्थानीय उत्पादनलाई बजारीकरण गर्न विशेष योजना बनाएको स्थानीय तहका प्रमुखहरुको भनाइ छ । नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले भन्नुभयो, “हाम्रोमा लसुन, टिमुरको पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेका छौँ र मह र सुन्तला विभाग (जोन)को कामसमेत सँगसँगै बढेको छ । नगरभित्र रहेका १३ नमूना बस्तीमा सडक सञ्जालसँग जोडेर जनताको जीवनस्तर उकास्नका लागि पहल कदमी जारी रहेको छ । भेरी नगरपालिकाले स्थानीय सङ्घ, संस्थासँग मिलेर स्मार्ट सिटीको अवस्थाअनुसार काम थालनी गरेको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । जुनिचाँदे गाउँपालिकामा टिमुर, कोदो संरक्षण र जडीबुटी, बहुमूल्य पत्थरको व्यवस्थाको कार्य गरिन लागेको अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter