बुधबार, १२ बैशाख २०८१

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण

२९ आश्विन २०७६, बुधबार १३:०४ मा प्रकाशित

दमौली, २९ असोज  गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण गर्नुभएको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–९ र १२ भाटडाँडामा सञ्चालित नमूना कृषि गाउँ आज अवलोकन गर्दै त्यहाँका गतिविधिबारे उहाँले जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा उहाँले फार्ममा सबै पूर्वाधार निर्माण भइसकेकाले अब व्यावसायिक उत्पादनमा लाग्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । नमूना कृषि कार्यक्रमले आफूहरुलाई उत्साहित बनाएको कार्यक्रममा सहभागी कृषकले बताएका थिए । गण्डकी प्रदेशका ३६ गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्ने गरी विसं २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले सो नमूना कृषि गाउँ औपचारिक शुरुआत गरेको थियो । प्रदेशसभा सदस्यको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ’का रूपमा विकास गर्ने गरी गण्डकी प्रदेशको ३६ निर्वाचन क्षेत्रमा अहिले ३६ वातावरणमैत्री कृषि फार्म सञ्चालन भएका छन् । नमूना कृषि गाउँमा उक्त दुई वडाका ९० घरधुरी आबद्ध छन् । सो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले उक्त ठाउँमा रु २५ लाख तीन हजार ५०० अनुदान दिएको छ भने समुदायले रु चार लाख तीन हजार ५०० लगानी गरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत यहाँका कृषकले व्यावसायिकरुपमा मौरीपालन, माछापालन, तरकारी उत्पादन, गोठ सुधारलगायत काम गरेका छन् । त्यसका लागि प्रदेश सरकारले कृषकलाई मौरीघार, टनेललगायतका सामग्री प्रदान गरेको थियो ।प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका–११ को बाँसखर्क, भिमाद नगरपालिका–९ को पाथर्दी, शुक्लागण्डकी नगरपालिका–९ र १२ को भाटडाँडा र लिलाचोक र आँबुखैरेनी गाउँपालिका–४ को भाँगेमा सो कार्यक्रम सञ्चालन भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter