बिहिबार, १५ चैत २०८०

पर्वतीय पर्यटनका विविध पक्ष एकै ठाउँमा

वासुदेव पौडेल

२९ आश्विन २०७६, बुधबार ११:४९ मा प्रकाशित

पोखरा, २९ असोज    झापा बुधबारेका रोशन सुवेदी दशैँ तिहार बिदाको समय उपयोग गर्दै यस पटक पोखरा घुम्न आउनुभयो । यसअघि पोखराको पर्यटन सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं साथीभाइका माध्यमबाट सुनेका उहाँलाई एक पटक पोखरा पुग्न मन लागेको थियो । यस वर्ष मौका मिल्यो । उहाँले तस्वीरमा देखेका र सुनेका फेवाताल, बेगनास ताल, महेन्द्रगुफा, सराङकोट, विश्व शान्ति स्तुपा, गुप्तेश्वर महादेव गुफा, पातले छाँगो आदि ठाउँमा पुगी प्रत्यक्ष हेरेरै अनुभव लिनुभयो । पोखराका हरेक पक्षले आफ्नो मन छोएको बताउने उहाँलाई पोखरा महानगरपालिका–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पनि उत्तिकै मन लोभ्यायो । पर्वतीय पर्यटनका विविध पक्षलाई एकै ठाउँमा राखिएको सङ्ग्रहालय यतिखेर सुवेदीजस्ता धेरै पर्यटकको रोजाइमा परेको छ । पोखरामा पर्यटकको बसाइ लम्ब्याउन यो पनि उत्तिकै महत्वपूर्ण बनेको छ । एक सय रोपनीमा फैलिएको परिसरको करीब छ रोपनी आठ आना क्षेत्रफलमा निर्मित सङ्ग्रहालय २०६१ साल माघदेखि सञ्चालनमा आएको हो । पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको निकै चाप हुने गरेको सङ्ग्रहालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानदाता एवं साहसिक पर्यटनका प्रेमीहरू आउने गरेका छन् । वर्षमा ३६५ दिन नै खुल्ला रहने सङ्ग्रहालय खुलेयता हालसम्म २१ लाख ९९ हजार ६९८ ले अवलोकन गरेको प्रशासकीय अधिकृत ऋषिराम पौडेलले जानकारी दिनुभयो । यस अवधिमा सार्क राष्ट्रबाट एक लाख ७६ हजार ५२५ ले सङ्ग्रहालयको अवलोकन गरेका छन् भने अन्य विदेशी राष्ट्रबाट दुई लाख ५३ हजार ८६३ ले अवलोकन गरेका छन् । त्यस्तै नेपाली सर्वसाधारणको सङ्ख्या सात लाख १३ हजार ४६८ रहेको छ भने नौ लाख ३२ हजार ५३५ विद्यार्थीले अवलोकन गरेका छन् । सङ्ग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्रै रु २० करोड ३२ लाख ९६ हजार ९५८ आम्दानी गरेको पौडेलले जानकारी दिनुभयो । सङ्ग्रहालयमा आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ सम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा सम्बन्धमा एकै ठाउँबाट जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई ५० र सर्वसाधारण नेपालीका लागि रु १०० शुल्क लाग्ने व्यवस्था गरिएको छ भने सार्कअन्तर्गतका पर्यटकलाई रु २५० र अन्य मुलुकका विदेशीका लागि रु ५०० शुल्क निर्धारण गरिएको छ । विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिमशिखरमध्ये आठ हजार ८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमा नै पर्दछन् । नेपालमा पर्ने अन्य हिमालमा आठ हजार ५०६ मिटरको कञ्चनजङ्गा, आठ हजार ५१६ मिटरको लोप्से, आठ हजार ४८५ मिटरको मकालु, आठ हजार २०२ मिटरको चोयु, आठ हजार १६७ मिटरको धौलागिरि, आठ हजार १६३ मिटरको मनास्लु र आठ हजार ९१ मिटर अग्लो आरोहणको जेठो हिमाल अन्नपूर्ण रहेका छन् । सङ्ग्रहालयमा आउने पर्यटकले पर्वतारोहण, पदयात्रा, स्किइङलगायतका पक्ष एकसाथ अवलोकन गरी जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेडसीबाट ल्याइएको चट्टानसमेत पर्यटकको अभिरुचिको विषय बनेको छ । अपाङ्गता भएका व्यक्तिले पनि अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको सङ्ग्रहालयमा अवलोकनको सहजताका लागि चार कक्ष र १२ उपकक्ष छन् । एशियाकै नमूनाका रुपमा रहेको सङ्ग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायतका विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री पनि प्रदर्शन गरिएको छ । अत्याधुनिक प्रविधियुक्त डिजिटल गाइड लाइन जडान गरिएको सङ्ग्रहालयमा अवलोकनकर्ताले डिजिटल गाइडमार्फत यहाँका प्रत्येक विषयको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । विविधतायुक्त नेपालका विभिन्न जातजातिको संस्कृति र परम्परा अध्ययन गर्न सकिने सङ्ग्रहालयमा परम्परागत जातीय वेषभूषामा मानिसका जोडी सजाएर राखिएको छ । सङ्ग्रहालय पस्ने बित्तिकै राखिएको श्रव्य दृश्य कक्षमा पर्वतीय पर्यटनको जानकारी लिँदै सहभागी त्यसपछि मात्रै यहाँका अन्य विविध पक्ष हेर्ने गर्दछन् । सङ्ग्रहालयमा रहेको पुस्तकालयमा पर्वतीय पर्यटन सम्बद्ध तीन हजार ५०० को सङ्ख्यामा पाठ्यपुस्तकसमेत रहेको म्युजियम गाइड सरिता कँडेलले जानकारी दिनुभयो । पुस्तकालय विशेष गरी पर्वतीय पर्यटन सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिको आकर्षण बनेको उहाँले बताउनुभयो । सङ्ग्रहालय आउने सकेसम्म समय मिलाएर यहाँका विभिन्न पाठ्य सामग्री पढेर पर्वतीय पर्यटन सम्बन्धमा जानकारी लिने गरेको उहाँको भनाइ छ । परिसरमा रहेका ३१ मिटर अग्लो मनास्लु हिमालको नमूना, माउन्टेन क्लाइम्बिङको नमूना, पोखरी तथा चट्टानी बगैँचा, नेपाली गाउँघरको आकर्षक नमूना आदिले जो कोहीलाई लोभ्याउने गरेको छ । पर्यटकको बसाइ लम्ब्याउन यस किसिमका पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नु अनिवार्य हुने पोखरा पर्यटन परिषद्को पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो । पर्यटक लक्षित लगानी बढिरहेका अवस्थामा पर्यटकको सङ्ख्या वृद्धिका साथै उनीहरूको बसाइ लम्ब्याउनेतर्फ सबैले ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter