बुधबार, १२ बैशाख २०८१

जङ्गली जनावरले धानबाली नष्ट

१६ आश्विन २०७६, बिहीबार ११:२९ मा प्रकाशित

बाजुरा, १६ असोज  जिल्लाका किसानलाई यतिबेला जङ्गली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता परेको छ । यहाँका किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधँै जङ्गली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानलाई चिन्ता परेको हो । जिल्लामा पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक वनको सङ्ख्यामा वृद्धि हुँदै गएपछि जङ्गली जनावरको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । आहराको खोजीमा ती जङ्गली जनावरहरु किसानले लगाएको खेतीबाली नष्ट गर्दै आएको हो । जिल्लाको बडिमालिका, त्रिवेणी, बूढीगङ्गा नगरपालिका र छेडेदह गाउँपालिकालगायतका किसानले लगाएको धानबाली पाक्न लागेको समयमा नै जङ्गली जनावर बँदेल, भालु र बाँदरले नष्ट पार्दै गएपछि यहाँका किसानलाई आफूले के खाने भन्ने चिन्ताले सताएको स्थानीयवासी पार्वती नेपालीले बताउनुभयो । जिल्लाको बूढीगङ्गा नगरपालिकाका स्थानीयवासी सनी दमाइले भन्नुभयो, “चैत–वैशाखमा लगाएको धानबाली पाक्न लागेको समयमा जङ्गली जनावर बँदेल, भालु र बाँदरले पूरै सखाप गरिदिएपछि आफूले भोकभाकै बस्नुपर्ने चिन्ता लागेको छ ।” “नेपालीको महान् चाडपर्व दशैँ नजिकै आउन लागेको छ । दशैँको बेला घरमा पाहुना आउने हुँदा उनीहरुलाई के खुवाउने हो । घरमा अरु केही खानेकुरा छैन । यसभन्दा पहिला यसै धानबालीबाट दशैँमा आउने पाहुनालाई खुवाउन सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “आफूले दिनमा हेरालो लागेर धानबाली बचाउने गरेको भएता पनि बेलुका बँदेल, भालु आएर धानबाली सखाप पार्दा अब बालबच्चालाई हिउँदमा के खुवाउने भन्ने चिन्ता लागेको छ ।” जिल्ला वन कार्यालय बाजुराका निमित्त प्रमुख हरि यादवले किसानले लगाएको खेती नष्ट पा¥यो भन्दैमा वन्यजन्तुलाई मार्न नपाउने भएकाले किसानले आफूले लगाएको खेतीलाई आफैँले सुरक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक वन नजिकै रहेको खेती जङ्गली जनावरले नष्ट गरेपछि प्रहरीको मुचुल्का साथै सामुदायिक वनको लेटरप्याडमा सिफारिश ल्याएर जिल्ला वन कार्यालय बाजुरामा पेश गरेपछि कार्यालयले राष्ट्रिय निकुञ्जलाई राहतका लागि सिफारिश गर्नसक्ने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter