बिहिबार, १३ बैशाख २०८१

बैतडीमा जैतुनखेतीको विस्तार गरिने

विनोद सिंह विष्ट

१३ आश्विन २०७६, सोमबार १२:५१ मा प्रकाशित

बैतडी, १३ असोज    स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ । केही वर्षअघि सम्म प्रसिद्ध मानिएको सतबाँझमा गएको १२ वर्षयता देखि स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो । विसं २०१९ मा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सुख्खा फलफूल विकास केन्द्रले जिल्लामा जैतुन खेतीको विस्तार गर्ने तयारी गरेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो । “जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पति हो”, उहाँले भन्नुभयोे, “जैतुनको तेल बहुऔषधिका रुपमा समेत प्रयोग गरिन्छ ।” किसानलाई जैतुन खेतीमा आकर्षण गराउनका लागि केन्द्रले एकसय जैतुनका माऊ बोट आफ्नो नर्सरीमा लगाएको प्राविधिक खड्काले बताउनुभयो । “पाँच हजार बिरुवा कलमीका लागि नर्सरीमा राखिएको छ”, उहाँले भन्नुभयो, “एक वर्षभित्रै किसानलाई पाँच हजार जैतुनका बिरुवा वितरण गरिने तयारी भएको छ ।” जैतुनबाट कोलेस्ट्रोल नभएको तेल उत्पादन हुने भएकाले यो औषधिका लागि उपयुक्त भएको उहाँको भनाइ रहेको छ । छ केजी जैतुनबाट एक केजी तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती विस्तार भएमा किसानको जीविकोपार्जनमा समेत सुधार हुने अपेक्षा गरिएको छ । यसका साथै सुख्खा फलफूल विकास केन्द्रले काजुखेती, बदामलगायत किसानलाई बढी आम्दानी दिने खालका फलफूलका बिरुवा नर्सरीमा राखेको छ । सतबाँझमा स्याउ फल्न छाडेपछि जैतुन, बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ । तत्कालीन राजा महेन्द्रले स्याउ फलाउन रोजेको बैतडीको सतबाँझ स्याउ नर्सरीमा जैतुनखेती विस्तार गरिन लागिएको छ । शुरुमा सतबाँझ स्याउ नर्सरी राखिएको त्यस ठाउँको नाम स्याउ फल्न छाडेपछि सुख्खा फलफूल विकास केन्द्र राखिएको थियो । विसं २०१९ मा सतबाँझको ५७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रवद्र्धनका लागि स्थापना भएको ‘सुख्खा फलफूल केन्द्र’मा पछिल्लो समय स्याउका जात लोप भएका हुन् । यसैबीच बैतडीमा पहिलो पटक किसानलाई जैतुनको बिरुवा वितरण गरिने भएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझले आफ्नो नर्सरी जैतुनको बिरुवा उत्पादन गरेकाले यो वर्षदेखि जैतुनको बिरुवा वितरण गरिने केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो । नर्सरीमा ७०० भन्दा बढी जैतुनको बिरुवा राखिएको छ । उन्नत जातको बिरुवा नर्सरीमा राखिएको छ । बिरुवा केन्द्रले विभिन्न स्थानीय तहको समन्वयमा अनुदानमा वितरण गर्न सक्ने जनाइएको छ । जैतुनको बिरुवा हिउँदमा रोप्नुपर्ने भएकाले आउँदो हिउँदमा किसानलाई वितरण गर्ने उहाँले बताउनुभयो । जैतुनको तेल निकै महँगो हुने भएकाले किसानलाई यसको खेतीमा आकर्षित गराउन केन्द्रले नर्सरीमा बिरुवा राखेको प्राविधिक खड्काले बताउनुभयो । जैतुनको तेल खान, औषधिका रुपमा प्रयोग गर्न र अन्य कस्मेटिक सामग्रीमा पनि प्रयोग गर्न सकिने भएकाले निकै महँगो हुने बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter