मङ्गलबार, ११ बैशाख २०८१

सप्तरीका दुई शक्तिपीठमा दर्शनार्थीको भीड शुरु

१२ आश्विन २०७६, आईतवार १२:४७ मा प्रकाशित

राजविराज, १२ असोज  नेपालीको महान चाड बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलहरुमा आज बिहानदेखि श्रद्धालु भक्तजनको चहलपहल शुरु भएको छ । विजयादशमीको शुरु भएसँगै आज घटस्थापनाको दिन प्रदेश नं २ मा रहेको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको श्री कङ्कालनी भगवती मन्दिरमा भक्तजनको भीड लाग्न शुरु भएको छ । प्रदेश नं २ मा रहेको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ मन्दिरमा ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पूजापाठ गर्नका लागि आज बिहानदेखि लाइनमा बस्ने गरेको छिन्नमस्ता मन्दिरका पीठाधीश एवम् मूल पुजारी महाकान्त ठाकुरले बताउनुभयो । शुरुको दिन आज उल्लेखनीय सङ्ख्यामा माता भगवतीको दर्शन एवं पूजापाठका लागि भक्तजनहरु आउने गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै सप्तरीको सदरमुकाम राजविराजमा रहेको भगवती मन्दिर राजदैवी र हुनुमाननगर कङ्कालनी नगरपालिका–१ स्थित भारदहमा रहेको प्रसिद्ध कङ्कालनी भगवती मन्दिरमा पनि दर्शनार्थीको आज बिहानदेखि घुइँचो लागेको स्थानीयवासी वीरेन्द्र प्रमाणीले बताउनुभयो । त्यस्तै छिमेकी मुलुक भारतबाट समेत लाखौँको सङ्ख्यामा छिन्नमस्ता र कङ्कालनी मन्दिरमा दर्शनार्थी प्रत्येक वर्ष विजयादशमीका बेला दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो । विजयादशमीको अवरसमा छिन्नमस्ता भगवती र कङ्कालनी मन्दिरमा खसीबोकाको बलिसमेत प्रदर्शन गर्ने गरेको हुनाले भारतको बिहार र नेपालको राजधानी काठमाडौँसहित विभिन्न ठाउँबाट समेत दर्शनका लागि भक्तजन यहाँको शक्तिपीठमा आउने गरेको कङ्कालनी मन्दिर विकास समितिले जानकारी दिएको छ । घटस्थापनाका दिन आज शुभसाइतमा गहुँ, जौको जमरा राखी विजयादशमीको दिन माता भगवतीलाई अर्पण गरी प्रसादका रूपमा लगाइने गरेको छ । गहुँ तथा जौको नवअङ्कुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने पौराणिक मान्यता रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । नौ रात्रिसम्म पूजा गरेर अङ्कुरित जमराको रस बनाएर खानाले विभिन्न रोग निको हुने बताउँदै पौराणिक मान्यताअनुसार निधारमा विजयस्वरुप टीका लगाएर जमरा शिरमा राख्दा शिरको पीडा र मानसिक अशान्ति दूर हुने उहाँले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter