बिहिबार, २० बैशाख २०८१

सहकारीले खसीबोका बिक्री गर्दै

१० आश्विन २०७६, शुक्रबार १२:५७ मा प्रकाशित

कावासोती, १० असोज    दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् । यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् । बुटवल, चितवन, पोखरा, काठमाडाँैलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । “खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने गरेको छु”, चितवनबाट खसी खरीदका लागि आउनुभएका व्यापारी सुनिल तिवारीले भन्नुभयो । नवलपुरको पहाडी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । यस वर्ष बाख्रा पकेट क्षेत्रका रुपमा विभिन्न क्षेत्रका कार्यक्रमसमेत सञ्चालन गरिएको छ । हुप्सेकोटको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारीले रु दुई करोड ५० लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने लक्ष्य लिएको छ । विजयादशमीमा सहकारीले करीब दुई हजार खसीबोका बिक्री गर्ने गरी सङ्कलन केन्द्र सञ्चालनमा ल्यएको छ । सहकारीले सङ्कलन केन्द्रमा रहेका खसीबोकमालाई जिल्लाका विभिन्न बजारसँगै चितवन, बुटवल, पोखरा, काठमाडाँै पठाउँदै आएको व्यवस्थापक सुशीला परियारले बताउनुभयो । हामीले पाँच वर्र्षदेखि खसीबोका किसानबाट सङ्कलन गरी बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । सहकारीले अहिले प्रतिकिलो रु ४९० का दरले जिउँदो खसीबोकाको मासु बिक्री गरिरहेको छ । दशैँसम्म मूल्य बढेर रु ५१० सम्म पुग्ने उहाँले बताउनुभयो । पहाडी क्षेत्रबाट धेरैजसो खसीबोका झ्यालबासको सङ्कलन केन्द्रमा ल्याउने गरिएको छ । गत वर्ष उक्त सहकारीले रु दुई करोड ८१ लाखको दुई हजार ९८६ खसीबोका बिक्री गरेको थियो । “यस वर्ष चार हजार खसीबोका बिक्री गर्ने लक्ष्य”, परियारले भन्नुभयो । यस्तै मध्यविन्दु नगरपालिका–१२ तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारीले समेत खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । तीन वर्षदेखि तमासपुरमा खसीबोका तथा बाख्रा बिक्री केन्द्र स्थापना गरी सहकारीले खसीबोका बिक्री गर्दै आएको व्यवस्थापक सुमित्रा पाल्पालीले बताउनुभयो । बिचौलियामार्फत बिक्री गर्दा किसानलाई नाफा कम हुने र किसानले लगानी गरेअनुसार प्रतिफल पाउन नसक्ने अवस्था थियो । बिक्री केन्द्र स्थापना गरेर सोझै बिक्री गर्न थालेपछि किसानलाई नाफा भएको पाल्पालीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter