बिहिबार, ०६ बैशाख २०८१

हरिशङ्कर र चारनारायण मन्दिर खु्ल्दै

सुभानु आचार्य 

९ आश्विन २०७६, बिहीबार १२:३० मा प्रकाशित

ललितपुर, ९ असोज  पाटन मङ्गलबजारमा अवस्थित हरिशङ्कर र चारनारायण मन्दिर यसपालि बडादशैँको नवमीभित्र खुल्ने भएका छन् । विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएका यी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । हरिशङ्कर र चारनारायण मन्दिर पुनःनिर्माणको काम सम्पूर्ण समाप्त भइसकेको छ । ढोकामा चुकुल हाल्ने, निर्माणका लागि जोडिएका सामग्री झिक्ने र मन्दिर सफासुग्घर गर्ने काम बाँकी रहेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । “नजीकै आइरहेको बडादशँै टीकाको अघिल्लो दिनसम्म दुवै मन्दिर खुलाउने योजना अघि बढाएका छाँै”, खनालले भन्नुभयो “मन्दिरमा ससानो काम बाँकी रहेकोले त्यसतर्फ कालिगढहरु निर्माण सम्पन्न गर्न लागिरहनुभएको छ ।” ती दुई मन्दिर पुनः निर्माणको सम्पूर्ण जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले लिएको छ । भूकम्प गएको एक वर्षपछि पाटन दरबार क्षेत्रका अरु स्मारकसँगै यी मन्दिर पुनः निर्माण शुरु भएको दरबार सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताउनुभयो । “तीनतले हरिशङ्कर र चारनारायण मन्दिर पुनःनिर्माणमा अधिकांश पुरानै सामग्री प्रयोग गरिएको छ”, लाखेले भन्नुभयो “ अपुग भएका सामग्री मात्र नयाँ खरीद गरी प्रयोग गरेका हौँ ।” विश्वसम्पदा सूचीको ३५ औँ स्थानमा सूचीकृत ती मन्दिरमा धार्मिक रुपमा सर्वसाधारणको आवतजावतले पाटनको गरिमा झन् बढ्ने भएको छ । पाटनका राजा योगनरेन्द्र मल्लकी छोरीले १८ औँ शताब्दीमा हरिशङ्कर मन्दिर निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ । हिन्दू धर्मावलम्बीले हरिशङ्करलाई शिव र विष्णुको संयुक्त स्वरुपका रुपमा पुज्ने गर्छन् । सोह्रौँ शताब्दीको अन्तिममा इँटैइँटाले निर्माण भएको चारनारायण पाटनको सबैभन्दा पुरानो मन्दिर हो । हिन्दू धर्मावलम्बीले नारायणलाई विष्णुको स्वरुपमा पुज्ने गर्छन् । आफ्नो टोलमा मन्दिर पुनःनिर्माण अघि बढेसँगै प्राचीन कलाको महत्व झल्किनाका साथै त्यसमा गुणस्तर छ या छैन भनी बेलाबेलामा आवाज उठाउने गरेको ‘मास्टर बा’ रामप्रसाद अमात्यले बताउनुभयो । अमात्यले भन्नुभयो, “जसरी एउटा घर मालिकले निजी भवन निमार्णमा ध्यान दिन्छ त्यसैगरी पुरातात्विक महत्वका वस्तु निर्माणमा स्थानीयवासीले सरोकार र छलफल गरी चासो बढाए चाँडो र राम्रो नतिजा पाउन सकिने हुँदा समय समयमा निरीक्षण गर्ने गर्छु ।” यसैगरी व्यापारीका देवता भीमसेन मन्दिर निर्माणमा पनि स्थानीयवासीले सरोकार राखी काम अघि बढाएका छन् । पाटन दरबार परिसरमा रहेका अन्य प्रसिद्ध कृष्णमन्दिर, विश्वनाथ मन्दिर, पाटन दरबार सङ्ग्रहालयका तीन चोक, बहादुर शाह भवन, सिंहस्तम्भ, योगनरेन्द्रको शालिक स्तम्भ, मणिमण्डप र तलेजु भवानी मन्दिर पुनः निर्माणको काम समाप्त भइसकेको पाटन दरबार हेरचाह कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कानुसार ललितपुरमा पूर्ण क्षति ३१, आशिंक क्षति ६८ र सामान्य क्षति भएका ४५ गरी कूल १४४ स्मारकमा भूकम्पले क्षति पु¥याएको थियो । सो दरबार क्षेत्रको हकमा ९० प्रतिशत काम सम्पन्न भइसकेको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । पाटनमा मन्दिर निर्माणको कामले गति लिएसँगै स्वेदशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । गत वर्ष दुई लाख पर्यटकले पाटन दरबार सङ्ग्रहालयको अवलोकन गरेका थिए । यस वर्ष सोभन्दा दोब्बरले पाटन अवलोकन गर्ने अनुमान दरबार सङ्ग्रहालयले गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter