शुक्रबार, २१ बैशाख २०८१

रतन्छामा घरैपिच्छे माछापोखरी

८ आश्विन २०७६, बुधबार १०:३४ मा प्रकाशित

खोटाङ, ८ असोज    सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएका पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिका माछा । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासीका प्रत्येक घरमा माछापालन व्यवसाय गरिएको छ । जताततै पर्याप्त पानीको स्रोत रहेको रतन्छामा विसं २०५४ मा काठमाडौँस्थित गोदावरीबाट तीन हजार माछाका भुरा ल्याएर वितरण गरिएको थियो । जिल्लाको दक्षिणपूर्वी भेगमा पर्ने रतन्छामा ५५६ घर छन् । झण्डै तीन दशकदेखि आफ्नै लगानीमा माछापालन व्यवसाय गर्दै आएका रतन्छावासीका लागि गत वर्ष गाउँपालिकाका तर्फबाट दुई लाख ५० हजार माछाका भुरा ल्याएर वितरण गरिएको कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । रतन्छामा अहिले वार्षिकरूपमा १० हजार किलोभन्दा बढी माछा उत्पादन हुने र सो माछा सोठी ठाउँमा खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारसँग जोडिएको रतन्छाका वडाध्यक्ष उन्नत राईका घरमा मात्रै तीन माछापोखरी छन् । उहाँका अनुसार गत वर्ष एउटै पोखरीबाट एक पटकमा ९० किलो माछा निकालेर बिक्री गरिएको थियो । आफ्नो गाउँलाई अग्र्यानिक क्षेत्र बनाउने अभियानमा लागेका रतन्छाका अधिकांश स्थानीयवासीले आफँै उपभोग गर्न आ–आफ्नो घरमा माछापालन व्यवसाय गरेको स्थानीयवासी कविकुमार राईले बताउनुभयो । माछा विशेषज्ञ डा आशकुमार राईको जन्मथालोसमेत रहेको रतन्छामा स्थानीय युवाको सक्रियतामा सामूहिक लगानी गरेर व्यावसायिक माछापालनसमेत गरिएको छ । रतन्छाका १३ स्थानीय युवा मिलेर आफ्नो व्यक्तिगत लगानीमा दुई वर्षअघिदेखि व्यावसायिक माछापालन व्यवसाय शुरु गरेका हुन् । रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर उहाँहरुले पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् । समुद्री सतहदेखि करीब एक हजार ५०० मिटर उचाइमा पर्ने रतन्छालाई माछाको पकेट क्षेत्र बनाउने योजना बनाइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । जिल्लाका सबैभन्दा थोरै पाँच मात्रै वडा रहेको साकेला गाउँपालिकामा माछा, मौरी तथा पशुपक्षीपालन, आलु, मकै, गहुँ, धान, कोदो, फलफूल तथा तरकारीलगायत फरक–फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान थालिएको छ । हरेक वडामा भूगोलअनुसार फरक–फरक व्यवसाय गर्न कृषक समूह नै गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । वडास्तरमा हालसम्म ६८ कृषक समूह गठन गरिएको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो । गाउँपालिकाले प्रत्येक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । यस वर्ष कृषिलाई प्राथमिकतामा राखेर रु एक करोड ११ लाख ३७ बजेट विनियोजन गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter