शुक्रबार, १४ बैशाख २०८१

उद्योग एवं कलकारखानामा विश्वकर्मा पूजा

१ आश्विन २०७६, बुधबार ११:५१ मा प्रकाशित

पोखरा, १ असोज  निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा गरेमा व्यवसायमा उन्नति, प्रगति र पारिवारिक सुख प्राप्त हुने जनविश्वास छ । पूजा शुरु गर्नुअघि मेशिनरी, सवारी साधनलगायतको राम्रोसँग सरसफाइ गर्ने गरिन्छ । त्यस्तै आजको दिनलाई वास्तु दिवसका रूपमा समेत लिँदै वास्तुसम्बन्धी कामको शुरुआत गर्ने प्रचलन छ । सवारी साधनमा आजको दिन पूजा गर्नाले वर्षभर दुर्घटनालगायतका समस्याबाट मुक्त भइने विश्वासका साथ घर–घरमा विश्वकर्माको पूजा गरी सवारी साधनमा टीका लगाएर ध्वजा बाँध्ने प्रचलन छ । यातायात व्यवसायीले पोखराको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको परिसरस्थित विश्वकर्मा बाबाको मन्दिर र अन्यले शक्तिपिठमा पूजाअर्चना गर्ने गर्दछन् । नयाँ उद्योग तथा कलकारखाना शुरु गर्नेले आजकै दिनबाट आफ्नो व्यवसाय शुरुआत गर्ने गरेका छन् । विभिन्न उद्योगमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिने भएकाले झण्डै एक महीना अगावैदेखि मूर्तिकारलाई भ्याइनभ्याइ हुने गर्दछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter