शुक्रबार, ०४ जेठ २०८१

व्यक्तिगत लगानीमा दुई पुल निर्माण

३१ भाद्र २०७६, मंगलवार १६:४८ मा प्रकाशित

ओखलढुङ्गा, ३१ भदौ    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गर्नुभएको छ । पर्यटन व्यवसायीसमेत रहनुभएका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरिएको हो । गाउँका ठाडो खोलामा वर्षाको समयमा आउने भेलका कारण स्थानीयलाई आवजजावतमा समस्या भएकाले पुल निर्माणमा सहयोग गरेको शेर्पाले बताउनुभयो । विद्यार्थीलाई विद्यालय जान आउनसमेत खोलामा आएको भेलले अवरोध गर्ने गरेकाले पुल बनाएर समस्या समाधान गरेको शेर्पाको भनाइ छ । “गाउँमा सानासाना समस्या छन् । समाधानमा कसैको चासो देखिएन त्यसैले मैले आफौले आफ्नो गाउँको विकासका लागि सहयोग गरेको हुँ”, शेर्पाले रासससँग भन्नुभयो, “खोलामा आउने बाढीमा परेर कसैले ज्यान गुमाउन नपरोस् र कष्टकर यात्रा गरेर जोखिम मोल्न नपरोस् भनेर पुल बनाईदिएँ । अठ्यारो थियो आसपासको बाटो त्यो पनि मर्मत गर्न खर्च पठाएँ स्थानीय साथीहरुले काम गर्नुभयो ।” शेर्पाले पुल निर्माण र बाटो मर्मतका लागि रु दुई लाख ५० हजारभन्दा बढी रकम खर्च गर्नुभएको छ । खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको थामथोले आधारभूत विद्यालयका प्रअ राजेन्द्र सुनुवारले बताउनुभयो । थामथोले आधारभूत विद्यालयका स्पोन्सरसमेत रहेका शेर्पाको पहलमा खोलामा पुल बनेपछि थामथोले आवि, फूलमती माविसहितका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र गाउँपालिकाको केन्द्र आवतजावत गर्ने स्थानीयवासीलाई सजिलो भएको प्रअ सुनुवारको भनाइ छ । समाजसेवी शेर्पाले विगतदेखि नै गाउँमा विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter