शनिबार, १५ बैशाख २०८१

सानो नेते खोलामा पक्की पुल निर्माण

३० भाद्र २०७६, सोमबार १२:३७ मा प्रकाशित

सुरुङ्गा, ३० भदौ  दक्षिणी इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका जोड्ने सडक खण्डको सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि उत्तरी झापा र दक्षिणी इलामका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । अर्जुनधारा नगरपालिका–१ सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि अर्जुनधारा–१ र २ सँगै इलामको दक्षिणी भेगमा पर्ने रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा बसोबास गर्ने स्थानीयलाई सहज हुने भएको छ । विशेष गरेर हाटबजार गर्ने, स्थानीय उत्पादन बजारसम्म पु¥याउने कृषकका लागि पुल वरदान सावित भएको छ । छिमेकी स्थानीय तह रोङ गाउँपालिकासँगको साझेदारीमा गत असार १५ गते निर्माण सम्पन्न भएको पुलको शनिबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । निर्माणसँगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका हुन् । निर्माण उपभोक्ता समितिका अनुसार गत चैत ८ गते सम्झौता भई निर्माण शुरु भएको उक्त पुलको जम्मा लागत जनसहभागितासहित रु ६७ लाख २१ हजार ८२८ रहेको छ । पुल निर्माण गर्न अर्जुनधारा नगरपालिकाबाट रु ३० लाख, गाउँपालिकाबाट रु २० लाख र प्रदेश निर्वाचन क्षेत्र इलाम १ ‘ख’ बाट रु १० लाख विनियोजन भएको समितिका अध्यक्ष महेन्द्रकुमार बरालले जानकारी दिनुभयो । “विशेषगरी वर्षाको समयमा वर्षौंदेखि यस क्षेत्रका सर्वसाधारणले समस्या झेल्दै आएका थिए”, अर्जुनधारा नगरपालिकाका अध्यक्ष हरिकुमार रानाले भन्नुभयो, “सानो नेतेमा पुल निर्माण भएपछि अब अर्जुनधारा– १ खुदुनाबारी क्षेत्रका सर्वसाधारण र इलामका सबैलाई फाइदा पुग्नेछ । “दक्षिणी इलाकाका सूर्याेदय नगरपालिका र रोङ गाउँपालिकाका सर्वसाधारणका लागि प्रमुख बजार भनेकै अर्जुनधारा र विर्तामोड हो”, अर्जुनधारा नगरपालिका–१ का वडाध्यक्ष गजाधर खतिवडाले भन्नुभयो, “पुल निर्माण भएपछि वर्षाैँदेखिको समस्या हल भएको छ ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter