शुक्रबार, ०७ बैशाख २०८१

एक्काइस महीनापछि पुल सञ्चालन तर कामदारले पाएन ज्याला

केदार मगर

२७ भाद्र २०७६, शुक्रबार १५:३९ मा प्रकाशित

खोटाङ, २७ भदौ  खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलामा पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकको साप्सुखोलाको ३० मिटर लामो पुल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् । विसं २०७३ मङ्सिर २२ गते शिलान्यास गरिएको सो पुल १८ महीनाभित्र पूरा गर्नेगरी विसं २०७३ वैशाखमा ठेक्का लागेको थियो । म्याद गुज्रिएको १५ महिना बित्दासमेत निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीका श्याम पोखरेलले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि २०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो । झन्डै दुई वर्ष ढिला गरी निर्माण सम्पन्न भएको सो पुल उद्घाटन भएर सञ्चालनमा आए पनि त्यहाँ काम गर्ने कामदारले भने अहिलेसम्म ज्याला पाएका छैनन् । निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधि श्याम पोखरेलबाट ३० भन्दाबढी कामदारको ज्याला भुक्तानी लिन बाँकी रहेको पाइएको छ । ठेकेदार पोखरेलले पुलको शिलान्यास हुनुभन्दा तीन वर्षअघि विसं २०७० देखि नै आफूहरुलाई काममा खटाएर भुक्तानी नदिई बेपत्ता बनेको साकेला गाउँपालिका–५ का कामदार तीलबहादुर राईले बताउनुभयो । आफ्नै गाउँमा रोजगार पाउँदा उत्साहित हुँदै मिस्त्री, गिट्टी, ढुङ्गा र बालुवाको काम गरेका कतिपय कामदारको पूरै हिसाब हराएको पाइएको छ । आंशिक ज्याला पाएका कामदारले समेत पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदासम्म पनि पूरै ज्याला नपाएपछि उद्घाटन कार्यक्रममा उपस्थित भएका अतिथिसमक्ष आफूहरुले पाउने पारिश्रमिक तत्काल उपलब्ध गराइदिन अनुरोध गरेका थिए । काम लगाउने ठेकेदार नै बेपत्ता भएपछि कामको दाम नपाएको विरोधमा कामदारले उद्घाटन कार्यक्रमलाई अवरोध नै गर्ने तयारी गरेका थिए । तर, स्थानीय जनप्रतिनिधि तथा अतिथिले ठेकेदारबाट पारिश्रमिक दिलाउने आश्वासन दिलाएपछि ज्याला नपाएर विरोधमा उत्रिएका कामदार पछि हटेका थिए । अहिलेसम्म सम्पर्कमा नआएका ठेकेदार पोखरेलले आफ्नोमा खाना र खाजा खाएको मात्र रु एक लाख ७० हजार बाँकी रहेको निर्माणस्थलमा होटल व्यवसाय गर्दै आउनुभएका स्थानीय रामचन्द्र राईले बताउनुभयो । “शुरु–शुरुमा फोन लाग्थ्यो तर, उठ्दैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले त त्यो हामीलाई दिएको नम्बर नै अफ गरिएको छ ।” विद्यालय छाडेर गिट्टी कुट्न साप्सुखोला पुगेका कतिपय विद्यार्थीले समेत ज्याला नपाएको बताइएको छ । ठेकेदारकै कारण कतिपय कामदारले कुटेको गिट्टी प्रयोग गरेर पनि हिसाब गर्ने काम नभएको कामदारको गुनासो छ । दोभान निर्माण सेवाले कामको जिम्मा लिएयताको पारिश्रमिक पाए पनि सोभन्दा अगाडि गरेको कामको पारिश्रमिक नपाएको कामदारको गुनासो छ । साकेला गाउँपालिकाका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले पुल निर्माणका क्रममा ज्याला पाउन बाँकी सबै कामदारलाई जुनसुकै हालतमा ज्याला उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “काम लगाएर ज्याला नदिने ठेकेदार हाम्रै जिल्लाका हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँसँग सम्पर्क भइरहेको छ । तपाईंहरु ढुक्क हुनुहोस् जसरी भए पनि म तपाईंहरुले पाउने ज्याला उपलब्ध गराएर छाड्छु ।” दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकखण्डको सो पुल विसं २०७३ मङ्सिर २२ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गर्नुभएको थियो । लामो समयसम्म पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार बेपत्ता बनेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईले विसं २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्न गृहमन्त्रीसमक्ष लिखित माग गर्नुभएको थियो । बेलायती सरकारको आर्थिक सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर विसं २०६९ असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडकखण्डमा पर्ने सो पुल सञ्चालनमा आएपछि नियमित यातायात शुरु भएको छ । नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको रु दुई करोड ३० लाख ३६ हजार लागतमा सो पुल निर्माण गरिएको हो । (तस्वीर उपलब्ध छ)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter