शुक्रबार, १६ चैत २०८०

बैतडीमा अनन्त चतुर्दशी मेला

२७ भाद्र २०७६, शुक्रबार १०:४५ मा प्रकाशित

बैतडी, २७ भदौ  बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला आज समापन हुँदैछ । निङ्गलाशैनी भगवतीको भण्डार घरबाट मङ्गलबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला÷जात्रा शुरु भएको थियो । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ । जात्रामा चार दिनसम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ । भाद्र शुक्ल पूर्णिमाको बिहानसम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण हुन् । जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रूपमा मनाउने गरेको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने गरेको छ । भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा र चैतको अष्टमीको दिन गरी चार पटक विशेष जात्रा हुनेगरेको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरुको घुइँचो लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइने गरिएको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताउनुभयो । मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने र उभिएर बत्ती बाल्ने महिला भक्तजनहरुको घुइँचो लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजासमेत हुनेगरेको छ । यो मेलालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रहिआएको छ । मेलालाई भव्य र सभ्यरूपमा सफल पार्न मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानूनअनुसार कारवाही हुने जनाइएको छ । मेलामा देउडा प्रतियोगिता पनि सञ्चालन गरिएको छ । सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागि पनि यो मेलालाई विशेषरूपमा हेर्ने गरिन्छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका देउडियासमेत यहाँ आएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter