बिहिबार, १५ चैत २०८०

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

२४ भाद्र २०७६, मंगलवार १६:२४ मा प्रकाशित

काठमाडौँ, २४ भदौ  ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले शिक्षा र संस्कृतिमाथि आक्रमण भइरहेको बताउँदै संरचनागत रुपमा कसरी जाने भन्नेमा खुला छलफल गरी निष्कर्षमा पुग्नुपर्ने विचार राख्नुभयो । सांसद पुष्पा भुसालले शिक्षा निःशुल्क मात्र नभई अनिवार्य पनि गराउनुपर्ने बताउनुभयो । पूर्ण साक्षरबाट पूर्ण शिक्षित बनाउनेतर्फ विधेयक केन्द्रित हुनुपर्ने उहाँको धारणा थियो । साङ्केतिक भाषालाई पनि शिक्षामा अनिवार्य एवं निःशुल्क गराउने र शिक्षाको नीति निर्धारण गर्ने ठाउँमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग पनि सांसद भुसालको थियो । सांसद गगनकुमार थापाले गत वर्ष ६२ हजार विद्यार्थी शिक्षा लिन विदेश गएको उल्लेख गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “विगतका गल्तीलाई सच्याउनुपर्नेमा पुनःदोहो¥याइएको छ, विश्वविद्यालयमा सही पात्र ल्याइनुपर्छ, विगतका सबै सरकारले गल्ती गरेकाले यस वर्ष पदाधिकारी नियुक्त गर्दा राजनीति र भागबण्ड नगरियोस्”, उहाँले भन्नुभयो । सांसद तेजुलाल चौधरीले बौद्धदर्शन पढाउन खोलिएको विश्वविद्यालयले इञ्जिनीयरिङसमेत पढाउन थालेकाले शिक्षासम्बन्धी छाता कानून निर्माण गरी स्पष्ट व्यवस्था गर्न माग गर्नुभयो । सांसद शेरबहादुर तामाङले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने माग गर्दै माध्यमिक तहको शिक्षा निःशुल्क भनिएपछि निजी विद्यालयलाई अनुमति दिइनु कानूनविपरीत हुने बताउनुभयो । विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा समानुपातिक समावेशी प्रतिनिधित्व गर्न पनि सांसद तामाङले माग गर्नुभयो । सांसद प्रेम सुवालले विश्वविद्यालयका उपकुलपति शासकका रुपमा पठाउने परिपाटी अन्त्य गरी प्राध्यापकलाई नै जिम्मेवारी दिन माग गर्नुभयो । सांसद रेखाकुमारीले सबै वर्गका नागरिकले अध्ययन गर्न सक्ने गरी शिक्षालाई सर्वसुलभ बनाइनुपर्नेमा जोड दिनुभयो । सांसदले उठाउनुभएका विषयको जवाफ दिँदैै शिक्षामन्त्री पोखरेलले उच्च शिक्षा अथवा शिक्षासम्बन्धी छाता ऐन पनि ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । सङ्क्रमणकालमा विश्वविद्यालयमा नियुक्त गर्दा गल्ती भएकामा सबै दल सहमत भएकाले सच्याउने उहाँको प्रतिबद्धता थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter