शनिबार, २२ बैशाख २०८१

सामुदायिक वनको सहयोगमा विद्यालय सञ्चालन

२४ भाद्र २०७६, मंगलवार ११:३२ मा प्रकाशित

खलङ्गा, २४ भदौ  जुम्लाको पातारासी गाउँपालिका खालाढिकमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई यहाँको एक सामुदायिक वनले सञ्चालन गरेको छ । शिक्षा क्षेत्रलाई अहिले समुदायस्तरबाट निकै महत्वका साथ लिने गरिएको छ । सामुदायिक वनले शिक्षा क्षेत्रमा शिक्षक र भौतिक पूर्वाधारमा लगानी गर्दै आएको छ । फुर्केसल्ला सामुदायिक वनले पाँच जना शिक्षकको तलबमा सहयोग गरेको छ । सामुदायिक वनले शिक्षकलाई तलब सहयोग गरेपछि विद्यालय सञ्चालन गर्न ठूलो सहयोग भएको विद्यालयका प्रधानाध्यापक वासुदेव यादवले बताउनुभयो । सामुदायिक वनले मासिक रु ८५ हजार शिक्षकको तलबमा सहयोग गरेको छ, जसमा रु १५ हजार तलबमा तीन शिक्षक र रु २० हजार तलबमा अन्य दुई शिक्षकलाई सहयोग पाइएको उहाँले जानकारी दिनुभयो । प्रावि दरबन्दी रहेको सो विद्यालयमा प्रावि शिक्षक चार र एक जना राहत दरबन्दी छ । शिक्षा विकास समन्वय एकाइले भने एक जना माध्यमिक शिक्षक सहयोग गरेको र अन्य शिक्षकको सामुदायिक वन उपभोक्ता समितिले सहयोग गरेको विद्यालयले जनाएको छ । सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष पूर्णसिंह बोहराले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकताका साथ लगानी गरिएको बताउनुभयो । उहाँले सामुदायिक वनले शिक्षामा गरेको लगानीले गाउँमै माध्यमिक विद्यालय सञ्चालन भएर सजिलो भएको बताउनुभयो । फुकेसल्लाबाहेक जुम्लाका धेरै सामुदायिक वनले शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छन् । यहाँको गाडापानी सामुदायिक वनले रु ७० हजार बराबरको काठ विद्यालयमा निःशुल्क भवन बनाउन सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष गोकर्ण चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका सामुुदायिक वनले प्रायगरी शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएका छन् । आम्दानी बढ्दो यहाँका केही सामुदायिक वनको आम्दानी भने बढिरहेको छ । जिल्लाका २०१ सामुदायिक वन उपभोक्ता समितिमध्ये चार वटा सामुदायिक वनको आम्दानी निकै राम्रो भएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका चार वटा वन फुर्केसल्ला, तल्फी पातारासी, लम्तेलीे, बागजाले र भलेनी सामुदायिक वनले वार्षिक रु पाँचदेखि रु २५ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter