आइतबार, २३ बैशाख २०८१

भाइरल ज्वरोले किशोरीको मृत्यु

२३ भाद्र २०७६, सोमबार १४:१२ मा प्रकाशित

जाजरकोट, २३ भदौ  ः जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् । सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज ‘रिफर’ गरेको थियो । उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताउनुभयो । आशा खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनका बाबुआमा मजदुरीका लागि पाँच वर्षदेखि भारतको हिमाञ्चलमा बस्दै आएका छन् । केही दिनयता जिल्ला अस्पताल र संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डा केशर कार्कीले बताउनुभयो । बिरामी बढ्दै गएको तर औषधिको ‘स्टक’ सकिँदै गएकाले समस्या हुन थालेको उहाँले बताउनुभयो । मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र बिरामी हुनेबित्तिकै नजिकको स्वास्थ्य संस्था जान उहाँले आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter