शुक्रबार, ०७ बैशाख २०८१

सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर देवताको मेला

२२ भाद्र २०७६, आईतवार १५:१५ मा प्रकाशित

डोटी, २२ भदौ  डोटी र डडेल्धुरा जिल्लाको सिमाना नजिकै अवस्थित प्रमुख धार्मिकस्थल घण्टेश्वरमा मेला आज राति विशेष धार्मिक मेला लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजारजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइँदै आएकामा त्यसै व्यवस्थाअनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ । मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा तिलखा पठाउने प्रचलन रहेको जोरायल गाउँपालिका–१ गैराका स्थानीयवासी छपेश मल्लले बताउनुभयो । भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर त्यो ठाउँमा बास बसेको त्यहाँका बूढापाकाको भनाइ छ । डोटीको जोरायल गाउँपालिकामा पर्ने सो मेलामा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “शुद्ध मनले मागेको वर मिल्ने भएकाले उक्त मेलामा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजन आउने गरेका छन् ।” पवित्र मनले उपवास बसी घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । मेलामा रातभर महिला र पुरुषको छुट्टाछुट्टै रुपमा सुदूरपश्चिमेली देउडा खेल्ने प्रचलन छ । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गबाट करीब पौने चार किलोमिटरको दूरीमा रहेको घनघोर जङ्गलको बीचमा अवस्थित उक्त मन्दिरसम्म पुग्न यस वर्षदेखि सडक सुविधा पुगेको छ । सडक सुविधा पुगेपछि श्रद्धालु भक्तजनको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । मेलामा डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतका विभिन्न बाट हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter