बिहिबार, १५ चैत २०८०

विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

सुरेन्द्र भण्डारी

१९ भाद्र २०७६, बिहीबार १०:४१ मा प्रकाशित

सुरुङ्गा, १९ भदौ    वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेशिया बस्नुभयो । विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उहाँले घरमै कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । योसँगै उहाँले उन्नतजातका बाख्रा पनि पाल्न थाल्नुभएको छ । रु २० लाख लगानी गरी गत वर्षदेखि उहाँले कुखुरा र बाख्रापालन गर्दै आउनुभएको हो । उहाँको फार्ममा अहिले ९७० कुखुरा छन् । लेयरजातका कुखुरा पाल्नुभएका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहनुभएको छ । कुखुरासँगै उहाँले २० उन्नतजात (जमुनापारी, बोयर)का बाख्रा पाल्नुभएको छ । कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न शुरु गरेका छन् । श्रीमती भावनाको नाममा फार्म सञ्चालन गरी उहाँले व्यवसाय थाल्नु भएको हो । विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ । “खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय शुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भन्नुभयो । उहाँले २२ माउ उन्नतजातका बाख्रा पाल्नु भएको छ । “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो । अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उहाँले भन्नुभयो । यस्तै बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहनु भएको छ । उहाँले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पाल्नुभएको छ । उहाँको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ । उहाँ मात्र होइन, झापा गाउँपालिकाको शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । “दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले भन्नुभयो । उहाँ पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुग्नुुभएको थियो । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उहाँले भन्नुभयो । स्वेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएका भण्डारीले अहिले मासिक रु एक लाख घरमै बसेर आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् । विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उहाँहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा हात हाल्नु भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter