बुधबार, १२ बैशाख २०८१

प्रभावकारी बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

सुशीला रेग्मी

१७ भाद्र २०७६, मंगलवार १६:१३ मा प्रकाशित

बेझाड, पाल्पा, १७ भदौ  बेझाड, पाल्पा, १७ भदौ (रासस) ः प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । चार वटै स्थानमा सञ्चालनमा आएको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । “यस कार्यक्रमले कृषकलाई नयाँ प्राविधिकको ज्ञान र शीपसँगै आयआर्जनमा ठूलो टेवा पुग्नेछ,” उहाँले भन्नुभयो । चार वर्षसम्म निरन्तर कृषकमाझ सञ्चालन हुने भएकाले कृषकले यस कार्यक्रमबाट प्रशस्त आर्थिक लाभ लिन सक्ने अर्यालको विश्वास छ । प्रारम्भमा रामपुरको हेक्लाङ्ग क्षेत्रमा करीब ४९४ रोपनीमा यो कार्यक्रममा शुरु गरिएको हो र यस कार्यक्रमबाट यहाँका ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । पहिलो चरणमा ५९ लाख २८ हजारको लागतमा ८० प्रतिशत काम सकिएको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन इकाई समिति संयोजक नोलराज भण्डारीले बताउनुभयो । “कार्यक्रम सोचे भन्दा राम्रो हुँदै गएको छ, अबको चार वर्षभित्रमा साँच्चिकै यो क्षेत्र नमूना कृषिमय गाउँका रुपमा स्थापित हुनेछ,” उहाँले भन्नुभयो । कार्यक्रम अन्तर्गत सूचना सङ्कलन तथा कृषि उपज सङ्कलन भवन निर्माण, कुलो निर्माण तथा मर्मत, कृषकहरुलाई एक लाख ८० हजार बराबरको सामग्री, रामधानको बीउ, दुई पावर टिलर र दुई मिनी टिलर मेसिन वितरण गरिएको छ । तरकारीको बिरुवा उत्पादनका लागि पाँच लाखको लागतमा एउटा तरकारी टनेल निर्माण गरिएको छ भने वर्षामापक यन्त्र, तापमापक यन्त्र, कार्यालयका लागि आवश्यक पर्ने कम्प्युटर, फोटोकपी मेसिन खरिद गरिएको छ । एक लाख ८० हजार बराबरको तरकारीको बीउबाट बिरुवा उत्पादन गरेर १६६ रोपनीमा तरकारी लगाउने समितिको योजना छ । सरकारले कृषिमा गरेको लगानीबाट उत्पादन वृद्धि गरी गाउँलाई नमूना स्मार्ट गाउँ बनाउन लागिपरेको कृषक राजेन्द्र भण्डारी बताउनुहुन्छ । “गाउँमा जग्गा प्रशस्त छ, व्यवसाय गर्न इच्छुकलाई अनुदानका विभिन्न कार्यक्रम आइरहने भएपछि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था छैन, यस कार्यक्रमले कृषि कर्म गर्न हौसला मिलेको छ,” भण्डारीले भन्नुभयो । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँटमा चलेको स्मार्ट कृषि गाउँ कार्यक्रम नमूना बनेको छ । यहाँका ८३ घरपरिवारका कृषकलाई लक्ष्य गरी धान, मकै, तरकारीखेती सँगै माछापालन र कुखुरापालन व्यवसायलाई प्रोत्साहन दिइएको छ । पहिलो वर्ष ५०० मिटर पक्की कुलो निर्माणसहित ८०० मिटर सिँचाइको काम सम्पन्न भयो । दोभान खोलाबाट झण्डै ३०० मिटर परबाट आफैंले घुमाएर पानी माथि फाल्ने वर्षा पम्प सेट निर्माण गरी गाउँमा पानी लगिएको छ । पाँच घरलाई स्थानीय जातको कुखुरापालनका लागि खोर सुधारमा सहयोग, १५ जना कृषकलाई तरकारीको बीउविजन सहयोग, पाँच वटा हाते ट्र्याक्टर वितरण, विभिन्न कृषिजन्य मेशिन खरिद, सूचना सङ्कलन तथा कृषि उपज भवन निर्माण, एउटा पोखरी ट्याङ्की मर्मत, पाँच घरलाई सिँचाइका लागि ट्याङ्की निर्माणका काम भएका छन् । यस्तै, एक हजार ३०० कागतीका बिरुवा वितरण, ९८ घरधुरीमा प्रतिघर तीन वटाका दरले गमला वितरण, दुई वटा पानी तान्ने पाँच हर्स क्षमताको मोटर खरिद, मल ढुवानीमा सहयोग, ५०० रोपनी जमीनमा रोप्न रामधान, सावित्री, गोरखनाथ जातको धानको बीउ वितरण गरिएको छ । गाउँकै परिकार खुवाउने र प्रवद्र्धन गर्ने उद्देश्यका साथ कृषि होमस्टेको शुरुआत गरिएको झ्याङ्लाफाँट स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक चोपलाल गिरीले बताउनुभयो । “झ्याङ्लाफाँट क्षेत्रलाई नमूना कृषि क्षेत्रका रुपमा विकास गर्न छ वटा क्षेत्रमा विभाजन गरिएको छ, कृषकको चाहना अनुसार फरक फरक खालका कृषि व्यवसाय सञ्चालन गरेका छौं,” उहाँले भन्नुभयो । सात कृषकलाई माछापालनका लागि पोखरी निर्माण, दानापानी सहयोग, माटो परीक्षण, कृषकलाई तालीम, ५० घरलाई मलखाद सुधारका लागि जस्तापाता वितरण र १८ घरमा भकारो सुधार भएको छ । आगामी वर्ष पानीको ट्याङ्की विस्तार, सिँचाइका लागि कुलो निर्माण, पानीको पोखरी निर्माण, मेसिनबाट धान रोप्न मिल्ने खालको बनाउन खेतको गरा सम्याउने, अर्गानिक तरकारी लगाउने, बेमौसमी समयमा मकैखेती लगाउने, कृषकलाई दक्ष बनाउने तालीम, हस्तकलाका सामग्री निर्माण, भित्री सडकको वरपर सुधार, एक घर एक धारा जडान, सबै घरमा एकै प्रकारको रङ्ग लगाउने कार्यक्रम रहेको छ । रम्भा–१ हुँगीमा चलेको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत ८३ घरधुरीका कृषकलाई आत्मनिर्भर बनाउन धान र तरकारी खेतीलाई प्राथमिकता दिइएको छ । पहिलो वर्ष रु दश लाखको बजेटमा ५०० मिटर मुख्य कुलो मर्मत, तीन लाखमा ५०० मिटर शाखा कुलो मर्मत, दश लाखमा सूचना तथा उपज सङ्कलन केन्द्र निर्माणका साथै वर्षामापक र तापमापक यन्त्र खरिद गर्ने काम भएको छ । दुई लाखको लागतमा थोपा सिँचाइका लागि सिमेण्टका दुई पोखरी निर्माण, आठ लाख बराबरको कृषि औजार सामग्री खरिद र पाँच लाख बराबरको सेमी हाइटेक निर्माण गरिएको हुँगी स्मार्ट कृषि गाउँ कार्यान्वयन इकाई समितिका संयोजक केदारप्रसाद बस्यालले बताउनुभयो । करीव ३७६ रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिबाट कृषि उत्पादन वृद्धि गरी हुँगी क्षेत्रलाई हराभरा कृषिमय गाउँ बनाउन लागिपरेको बस्यालले बताउनुभयो । जैविक मल उत्पादनका लागि ८३ घरधुरीमै एक÷एक वटा ड्रम, मलखाद सुधारका लागि तीन÷तीन वटा जस्तापाता, छ क्विन्टल रामधान जातको धानको बीउ, कोशेबाली, सागमूलाका तरकारीको बीउविजन वितरण गरिएको छ । तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा भने बाख्रापालनमा स्मार्ट कृषि गाउँ कार्यक्रम चलाइएको छ । कार्यक्रममा आबद्ध ७० घरका कृषकलाई बोयर, क्रस, जमुनापारी जातका २०५ वटा बाख्रा वितरण गरिएको छ । जुकामाटेको औषधि, घाँसको बीउ, भिटामिन वितरण, बाख्राको बीमा, आधुनिक खोर निर्माणमा कृषकलाई सहयोग गरिएपछि व्यावसायिक बाख्रापालनमा आकर्षण बढ्दो छ । पाँच सय बाख्रा पाल्ने लक्ष्य रहेको कार्यक्रम संयोजक पुष्करनाथ पाण्डेयले जानकारी दिनुभयो । यो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले एक क्षेत्रमा पचास लाख दरले दुई करोड रकम विनियोजन गरेको छ । सिँचाइ, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणमा समेत यो कार्यक्रमबाट सहयोग पुग्नेछ । छनोटमा परेका स्मार्ट कृषि गाउँमा तीन पटक खेती गरिनेछ । पहिलो वर्ष हरेक स्मार्ट कृषि गाउँलाई सरकारले रु ५० लाखका दरले बजेट विनियोजन गरिसकेको छ । पहिलो वर्ष २० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी र कृषक समूहले लगानी गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter