शुक्रबार, २१ बैशाख २०८१

थारू समुदाय अटवारी पर्व मनाउँदै

१५ भाद्र २०७६, आईतवार १३:२४ मा प्रकाशित

कञ्चनपुर, १५ भदौ  ः दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शुक्लपक्षको आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी साँझ पुरुषहरुद्वारा नै यस पर्वमा गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्नुपर्ने चलन रहेको छ । व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलबाट वरिया, रोटी लगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको थारू सञ्चारकर्मी धनबहादुर चौधरीले बताउनुभयो । व्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्दछन् । यसलाई ‘कहार्नी’ भन्ने गरिएको उहाँले बताउनुभयो । व्रत बसेको साँझ ‘बहरी’ भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी ‘गन्यारी’ भन्ने काठबाट तीन÷चार जना मिलेर आगो बाली पवित्र रोटी र परिकार पकाउने गरिएको थारू अगुवा दानसिं दहितले बताउनुभयो । रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यलाई जान र छुनसमेत वर्जित हुने गरेको छ । पकाएको रोटीसँगै अन्य पकवानलाई व्रतालु सबैको भागसँगै अर्को भाग छुट्याउने गरिन्छ जसलाई ‘अग्रासन’ भन्ने गरिन्छ । व्रतालुहरुले आ–आफ्नो भागबाट अर्को भाँडामा खानेकुरालाई अलग्याएर राख्ने गर्दछन् । अलग्याएर राखेको खानेकुरालाई आइतबारको भोलिपल्ट सोमबार दिदीबहिनीलाई दिने चलन यस समुदायमा रहेको छ । दिदीबहिनीहरु दाजुभाइ आउने व्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरुले दाजुभाइसँग भलाकुसारी गर्ने गर्दछन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीहरु दाजुभाइलाई उपहार दिने गर्दछन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चा लगायतको पकवान र माछाको सिद्रा व्रतालुहरुले ग्रहण गर्ने गर्दछन् । अटवारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत र विश्वास रहँदै आएको छ । द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । थारू समुदायको अर्को भनाइअनुसार पौराणिक राजा दङ्गीशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यस पर्वलाई मनाइँदै आएको हो । यसैबीच अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter