बिहिबार, १३ बैशाख २०८१

नहरमा पानी घटेपछि सुक्खा खेतमै रोपाइँ

१४ श्रावण २०७६, मंगलवार १०:२३ मा प्रकाशित

भरतपुर, १४ साउन  ,,  साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर बर्खा लागे पनि खगेरी नहरमा आवश्यक मात्रामा पानीको सतह नबढ्नाले चितवनको पश्चिमी क्षेत्रका किसान सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ स्थित मञ्जु सिंखडाले सुख्खा खेतमै रोपाइँ गर्नुभएको छ । नहरबाट पर्याप्त मात्रामा पानी नआएपछि सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएको सिंखडाले बताउनुभयो । उहाँले भन्नुभयो, “नहरमा पानी छैन, आकाशको पानीको भर पर्नुपरेको छ ।” नारायणी लिफ्ट सिँचाइअन्तर्गतको खगेरी नहरको पानीले रोपाइँ गर्दै आएका यहाँका किसान नहरले पर्याप्त मात्रामा पानी नपठाउँदा यही सुक्खा खेतमा धान रोप्न बाध्य भएका छन् । नहरमा पानीको मात्रा घट्दै गएकाले अहिले पश्चिम चितवनका अधिकांश खेतमा पानीको अभाव हुँदाहुँदै रोपाइँ चलिरहेको छ । धेरैजसो सुक्खा खेतमै रोपाइँ गरेर किसान आकाशे पानीको भरमा छन् । स्थानीय किसान नन्दलाल ढकालले भन्नुभयो, “सिमसिमे पानी नपर्दा बीउ मर्ने सम्भावना छ, बीउ म¥यो भने खेत बाँझै हुन्छ कि भन्ने डर भो ।” उहाँले पनि केही दिनअघि सुक्खा खेतमै रोपाइँ गर्नुभयो । केही मात्रामा आकाशबाट पानी पर्दा ढकाललाई राहतको महसुस भयो । तर बर्खाको पानीको मात्रै भर पर्नु परे रोपेको धान जोगाउनै मुस्किल पर्ने उहाँले बताउनुभयो । पूर्वी चितवनको रत्ननगर टिकौलीमा रहेको खगेरी नहरले भरतपुर महानगरपालिकाभित्र पर्ने पश्चिम चितवनको पार्वतीपुर, गीतानगर, पटिहानी, जगतपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरसम्म सिँचाइ हुन्छ । मध्यबर्खामा समेत सो नहरमा पानीको खडेरी हुन थालेपछि पश्चिम क्षेत्रका किसान अहिले सुक्खा खेतमा रोपाइँ गर्न बाध्य भएका हुन् । पश्चिम चितवनको छ हजार बिघा खेतलाई सिँचाइ गर्ने नहरमा पानी नहुँदा रोपाइँ नै प्रभावित भएको छ । दुई मिटर पानी हुनुपर्ने नहरमा अहिले जम्मा ३० सेन्टिमिटर मात्रै पानी रहेकाले यो समस्या आएको हो । खगेरी नहरमा पानीको सङ्कट यो वर्षभन्दा अघि कहिल्यै भएको थिएन । “तीन÷चार वर्षयता लगातार पानी घट्दै आएको छ । तर यो वर्ष त धेरै नै कम भयो”, बाँधस्थलमा कार्यरत खगेरी नहरको गेट अपरेटर नारायणबहादुर गुरुङले भन्नुभयो । उहाँ १५ वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँका अनुसार हिउँदमा एकदम सुक्खा हुँदा पनि नहरमा २० सेन्टिमिटर पानी हुन्थ्यो । अहिले मध्यबर्खामा जम्मा ३० सेन्टिमिटर पानी हुनु भनेको शून्य बराबरजस्तै भएको उहाँले बताउनुभयो । गेट अपरेटर गुरुङले भन्नुभयो, “पहिला–पहिला हिउँदमै १५० सेन्टिमिटर पानी हुने नहर हो यो । साउन लागेपछि २०० सेन्टिमिटर पुग्थ्यो । अनि रोपाइँ मज्जाले चालू हुन्थ्यो ।” विगतमा नहरमा भदौको तेस्रो सातासम्म दुई मिटरभन्दा कम पानी नहुने उहाँले बताउनुभयो । यस्तै अवस्था रहे आउँदो वर्ष नहर नै सुक्ने हो कि भन्ने चिन्ता उहाँलाई छ । “घोलहरूमा कहीँकतै यसरी खेत रोपियो होला नभए नहरमा पानी नहुँदा छ हजार बिघामा यो पटक रोपाइँ नै शुरु हुनसकेको छैन । खेतमा पानी पु¥याउनै सकिँदैन”, खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङले भन्नुभयो । पूर्वी चितवनको खगेरी खोलालाई रत्ननगर– ९ टिकौली कपरखोरी नजिक बाँध बाँधेर नहर लगिएको छ । समितिका अध्यक्ष गुरुङका अनुसार नहर विसं २०२४ देखि सञ्चालनमा छ । खगेरी नहर प्रणाली नेपालकै सबैभन्दा सजिलो र सफल प्रणाली भएको समिति अध्यक्ष गुरुङले बताउनुभयो । “तर खगेरी खोलाको मुख्य जलाधार क्षेत्रमा लगातार भएको वन विनासले नहरको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ”, उहाँले भन्नुभयो । खगेरी खोलाको मूल स्रोत कालीखोला, बुङखोला, थाङखोला हुन् । ती खोलाको सिरानमा लगातार जस्तो वन फडानी भएको अध्यक्ष गुरुङले बताउनुभयो । “खगेरीको मुख्य जलाधार क्षेत्रभित्रै पर्ने सगुनटोलको घना जङ्गल फाँडेर निकुञ्जको बस्ती पदमपुर स्थानान्तरण गरिएपछि पानीको सङ्कट पर्न थालेको हो”, उहाँले भन्नुभयो । तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले विसं २०१६ मा शिलान्यास गरेको खगेरी नहरमा वर्षेनी पानीको खडेरी लाग्न थालेको छ । यसको प्रत्यक्ष मारमा पश्चिम चितवनका किसान परेका छन् । वर्षमा एकपटक मात्र रोपाइँ गर्न सक्ने अवस्थामा रहेका यहाँका किसान बर्खाको बेला पनि रोपाइँ गर्न नपाएपछि थप समस्यामा परेका छन् । यस क्षेत्रमा अझै ६० प्रतिशत रोपाइँ हुनसकेको छैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter