बिहिबार, १५ चैत २०८०

आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

१२ श्रावण २०७६, आईतवार १०:२३ मा प्रकाशित

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु पाँच करोड ८२ लाख ६४ हजार १७८ प्रदान गर्न लागिएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले बताउनुभयो । क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्ति दिने सो रकम निर्धारण गरेको हो । नवलपुरको गैँडाकोट, देवचुली, कावसोती, मध्यविन्दु र विनयी त्रिवेणीका ४७ घर, टहरा तथा ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिस्वरुप रकम प्रदान गर्न लागिएको हो । जसअन्तर्गत ४७ घर, टहराको क्षतिपूर्तिवापत रु पाँच करोड ७१ लाख ६२ हजार ५०० र ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिवापत रु ११ लाख एक हजार ६७८ रकम प्रदान गर्न लागिएको आयोजना प्रमुख जैसवालले बताउनुभयो । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणको क्रममा प्रसारण लाइनको क्षेत्रभित्र परेका घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्ति प्रदान गर्न लागिएको हो । नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाअन्तर्गत १६ घर, देवचुली नगरपालिकाअन्तर्गत तीन घर, कावासोती नगरपालिकाअन्तर्गत १८ घर प्रसारण लाइनको क्षेत्रभित्र परेका छन् । यस्तै मध्यविन्दु नगरपालिकामा छ र विनयी त्रिवेणी गाउँपालिकामा चार घर प्रसारण लाइनको क्षेत्रभित्र परेकाले सम्बन्धित घरधनीलाई क्षतिपूर्ति रकम प्रदान गर्न लागिएको प्रमुख जैसवालले बताउनुभयो । क्षतिपूर्ति निर्धारण समितिले उपलब्ध गराउनुपर्ने घरधनी, रुख बिरुवा पर्ने व्यक्तिको नाम र रकम निर्धारण गरिसकेकाले आयोजनाबाट रकम निकासा भएपछि चाँडै नै आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने छ । –

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter